सल्यान कालीमाटी गाउँपालिका– ७ का वडाध्यक्ष मित्रलाल रिजाल कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि धर्नामा बसेका छन् । सडक, सञ्चार र विद्युत् सेवाजस्ता आधारभूत पूर्वाधार विस्तारको माग राख्दै उनी झुल टाँगेर धर्नामा बसेका हुन् ।
घुइयाबारी–स्वामीबास–बबई सडकको स्तरवृद्धि तथा कालोपत्रे, नेपाल टेलिकमको टावर निर्माण र गाउँमा विद्युत् विस्तारको काम तत्काल अघि बढाउनुपर्ने माग राखेर उनी तीन दिनदेखि मुख्यमन्त्री कार्यालय अघि धर्नामा बसेका छन् ।
स्थानीय तह र प्रदेश सरकारसमक्ष पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएपछि आफू बाध्य भएर धर्नामा बस्नुपरेको उनले बताए । ‘घुइयाबारी–स्वामीबास क्षेत्रका बासिन्दा अहिले पनि सहज सडक पहुँच, भरपर्दो सञ्चार सेवा र नियमित विद्युत्बाट वञ्चित छन्,’ उनले भने, ‘बर्खायाममा सडक हिलाम्मे र अवरुद्ध हुँदा बिरामी ओसारपसार, खाद्यान्न ढुवानी तथा विद्यार्थीको आवतजावतमा समस्या हुने गरेको छ ।’
सडक नहुँदा जनताले राज्यको अनुभूति गर्न नपाएको र विकासका सामान्य पूर्वाधारका लागि समेत आन्दोलन गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘विद्युतीकरण नहुँदा स्थानीयले अझै परम्परागत इन्धन र सोलारकै भर पर्नुपरेको भन्दै उनले ग्रामीण बस्तीलाई प्राथमिकतामा राखेर विद्युत् विस्तार गर्नुपर्छ,’ उनले भने, ‘सडक, सञ्चार र विद्युत् अहिलेको समयमा विलासिताका विषय होइनन्, आधारभूत आवश्यकता हुन् ।’ रिजालले माग पूरा नभएसम्म धर्ना जारी राख्ने चेतावनी दिएका छन् ।