घरको भित्तामा झुन्डिएको एउटा फोटो अहिले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ५, वनरझुलाकी १२ वर्षीया काजलकुमारी रायको संसार नै बनेको छ । बिहान उठ्नेबित्तिकै उनी त्यही तस्बिरतिर हेर्छिन्, राति सुत्नुअघि पनि आमाकै अनुहार अँगालेर आँसु पुस्छिन् । उनलाई अझै लाग्छ, ‘आमा कतैबाट फर्केर आउनुहुन्छ ।’ तर, त्यो प्रतीक्षा अब केवल बालसुलभ आशा बनेर बाँकी छ ।
आमाको हत्या भएको दिनदेखि काजलको जीवन फेरिएको छ । पहिले गाउँभरि दौडिने, साथीहरूसँग खेल्ने उनी अहिले चुपचाप बस्न थालेकी छिन् । घरमा पाहुना आउँदा उनी धेरै बोल्दिनन् । कसैले ‘आमा कहाँ छिन् ?’ भनेर सोध्दा उनको अनुहार एकाएक मलिन हुन्छ । घरको भान्सामा अब धुवाँसँग मिसिएको आमाको गीत सुनिँदैन । आँगनमा कपडा सुकाउँदै हतारिने ती हात हराइसकेका छन् । तर, काजलले आमाका सामानहरू अझै हटाउन दिएकी छैनन् । पुरानो चप्पल, कपाल कोर्ने काइँयो र सिरानीमुनि राखिएको रुमाल उनी जस्ताको तस्तै जोगाएर राख्छिन् ।
त्यो राति म जन्ती नगएको भए हुन्थ्यो, आमा घरमा एक्लै भएको मौका पारेर अपराधीले हत्या गरिदियो, आमाको हत्यारालाई छोड्नुभएन ।
आइतबार उनको घर पुग्दा घरअगाडि बसिरहेकी किरियापुत्री काजल आमाको तस्बिर नियाल्दै न्यायका लागि बर्बराइरहेकी थिइन् । ‘त्यो राति म जन्ती नगएको भए हुन्थ्यो, आमा घरमा एक्लै भएर हत्या गरिदियो,’ उनी भन्छिन्, ‘आमाको हत्यारालाई छोड्नुभएन ।’ बोलिरहँदा उनको आँखा आँसुले भरिएको थियो । उनकी आमा बेपत्ता पारिएपछि जन्तीमा रहेकी काजललाई फोनमा ‘गाई हराइसकेको’ भनी बोलाएका थिए । तर, घर फर्किंदा गाई गोठमै देखेपछि उनले आमालाई खोज्दै पटक–पटक छिमेकी र गाउँलेसँग सोधिरहिन् । पछि एक सातासम्म बेपत्ता पारिएकी उनकी ३६ वर्षीया आमा अनितादेवीको शव गत बुधबार कोशी नदीको पश्चिमी किनारमा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो ।
त्यही राति उनकी आमा अनितादेवीलाई पाँच–सातजनाको समूहले घरबाटै बेपत्ता पारेको थियो । भोलिपल्ट अनितादेवीलाई घरमा नदेखेपछि छिमेकीले खोजी सुरु गरेका थिए । घरभित्र रगतका छिटा देखिएपछि उनीहरूले नै प्रहरीलाई जानकारी गराएर काजललाई पनि फोन गरेर बोलाएका थिए । गाउँले र प्रहरी मिलेर खोज्दै जाँदा गत बुधबार अनितादेवीको शव भेटको थियो । तीन महिनाअघि मात्रै फेरि वैदेशिक रोजगारीका लागि कतार गएका श्रीमान् वीरेन्द्र गत शुक्रबार कतारबाट फर्किएका छन् ।
उनले भने बाटोको विषयमा छिमेकीसँग महिनौँदेखि विवाद रहेको बताए । ‘बेपत्ता पारिएको राति ११ देखि १२ बजेसम्म श्रीमान्–श्रीमती फोनमा कुराकानी गरेका थियौँ, घरसम्म पुग्ने बाटो नरहँदा समस्या भइरहेको विषयमा फोनमा पनि बताएकी थिइन्,’ उनले भने, ‘भोलिपल्ट फेरि पटक–पटक फोन गर्दा सम्पर्क हुन सकेन । केहीबेरमा छिमेकीले फोन गरेर जानकारी गराएपछि मैले घटनाबारे थाहा पाएँ ।’
वीरेन्द्रले हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरे । ‘प्रहरीले दुईजना छिमेकीसहित तीनजनालाई नियन्त्रणमा लिएको जानकारी पाएँ,’ उनले भने, ‘श्रीमतीको हत्या गर्नेलाई कडाभन्दा कडा सजाय दिलाउनमा सहयोग गरिदिन सबै पक्षसँग आग्रह छ ।’
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले घटनामा संलग्न भएको आशंकामाा केही आरोपीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए । ‘महिलाको हात पछाडि फर्काएर तथा खुट्टा पनि बाँधिएको अवस्थामा शव फेला पारेका थियौँ,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्ट अझै आइसकेको छैन । थप अनुसन्धान भइरहेको छ ।’