विद्यालाई बल्खुबाट ‘वैधता’

बहिर्गमनका लागि सारथिहरूबाटै बढ्दो दबाब, स्वास्थ्य अवस्था र भूराजनीतिक परिस्थितिलगायतले शक्ति क्षीण हुँदै गएका अध्यक्ष ओलीले एकाएक विद्यालाई पार्टी मञ्चको शीर्ष तहमा उभ्याएर एमालेलाई तरंगित बनाए

सोमबार, ४ जेठ, २०८३
डिजिटल संस्करण

जेन–जी आन्दोलन र गत फागुनको निर्वाचनअघि सक्रिय राजनीतिमा फर्किने हरेक प्रयासलाई अवरुद्ध गर्दै आएका केपी ओलीले अब भने पूर्वराष्ट्रपति विद्या भण्डारीका लागि ढोका खुला गरेको सन्देश दिएका छन् । एमालेले पहिलोपटक पूर्वउपाध्यक्षको हैसियतमा भण्डारीलाई कार्यक्रमको प्रमुख अतिथि बनाएर उनको सक्रिय राजनीतिमा पुनरागमनको संकेत गरेको छ । एमालेमा नेतृत्व परिवर्तनको बहस र वामपन्थी शक्तिबिच नयाँ एकताको प्रयास जारी रहँदा भण्डारीलाई ‘प्रोजेक्ट’ गर्नु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । 

पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेर सक्रिय राजनीतिमा ‘फुलस्टप’ लगाएको एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी कार्यक्रमको प्रमुख अतिथि बनाएर पुनरागमनको ‘रेड कार्पेट’ बिछ्याएको हो । एमालेले ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार पार्टीको पुरानो केन्द्रीय कार्यालय बल्खुपरिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बनाएसँगै भण्डारीको सम्भावित यात्राको जनाउ दिएको छ । जबकि अघिल्लो ६ साउनमा केन्द्रीय कमिटी बैठकबाटै पार्टी राजनीतिमा सक्रिय हुने भण्डारीको योजनामाथि एमालेले निर्णय नै लिएर ‘ब्रेक’ लगाएको थियो ।  

कार्यक्रम सञ्चालक महासचिव शंकर पोखरेलले भण्डारीलाई ‘कमरेड’ शब्दसमेत सम्बोधन गर्दै पूर्वउपाध्यक्ष र पूर्वराष्ट्रपतिका रूपमा मञ्चमा आसनग्रहण गराएका थिए । त्यति मात्र होइन, उनले वक्ताको आमन्त्रण गर्दासमेत पूर्वउपाध्यक्ष सम्बोधन गरेर एमालेमा भण्डारीको आगमनलाई राजनीतिक रूपले अनुमोदन गरेका छन् । महासचिव पोखरेलले आगामी दिनमा पार्टीको औपचारिक फोरमबाट पनि निर्णय गर्ने सन्देश दिएका छन् । 

अध्यक्ष ओलीकै सहमतिमा महासचिव पोखरेलले भण्डारीलाई पूर्वउपाध्यक्षको हैसियतमा पार्टी कार्यक्रममा अतिथिका रूपमा आमन्त्रण गरेका हुन् । यसको संकेत बुझिने गरी निमन्त्रणा–पत्र लिएर केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी शुक्रबार बालुवाटारस्थित भण्डारीनिवास पुगेका थिए । ओली कार्यक्रममा सहभागी नहुने निश्चित भएपछि शनिबार भण्डारीलाई नै प्रमुख अतिथि बनाइने जानकारी गराइएको थियो ।

यसअघि पनि स्मृति दिवसको तयारीबारे औपचारिक सुझाव र निर्देशन लिन सचिव तथा मोर्चा फाँट प्रमुखसहित जनवर्गीय संगठनका नेताहरूको टोली एक महिनाअघि मदन भण्डारी फाउन्डेसनको बानेश्वरस्थित कार्यालय पुगेर भण्डारीसँग छलफल गरेको थियो । भण्डारीकै सुझावअनुसार एमालेले देशव्यापी रूपमा स्मृति दिवससम्बन्धी कार्यक्रम अघि बढाएको थियो । यही कारण मदन भण्डारी हीरक जयन्तीले आयोजना गर्ने तयारीमा रहेका केही कार्यक्रमसमेत तत्कालका लागि स्थगित गरिएको फाउन्डेसनका एक पदाधिकारीले बताए । 

अध्यक्ष ओलीकै निर्देशनमा भण्डारीलाई प्रमुख अतिथि बनाइएको र उनले सक्रिय राजनीतिमा फर्किन चाहेमा सदस्यता नवीकरण रोक्नेसम्बन्धी अघिल्लो निर्णयमाथि समेत पुनर्विचार हुन सक्ने संस्थापन पक्षका नेताहरू बताउँछन् । यसै सन्दर्भमा अघिल्लो आइतबार ओली र भण्डारीबिच भक्तपुरको गुन्डुस्थित ओलीनिवासमा दुई घण्टाभन्दा लामो 
छलफलसमेत भएको थियो ।

प्रमुख अथितिको हैसियतमा विद्याले पनि राजनीतिक भाषण गरिन् । ‘नेकपा एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । अब पार्टीले जनविश्वासलाई सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मानुशासन र सेवाभावलाई व्यवहारमा उतार्नुपर्दछ,’ उनले भनिन्, ‘कार्यकर्ताहरू जनताका बिचमा पुग्नुपर्दछ । जनताको दुःखसुखमा सहभागी हुनुपर्छ । र, समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय बन्नुपर्छ ।’

एमालेभित्रको इतरपक्ष मात्र होइन, ओलीनिकट नेताहरू उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले समेत उनलाई बहिर्गमन गराएर पार्टी पुनर्गठन तथा पुनर्जागरण अभियान अघि बढाउने प्रयास गरिरहेका छन् । यद्यपि ओलीले आफ्नी पूर्वविश्वासपात्र भण्डारीलाई अगाडि सारेर नयाँ राजनीतिक दाउपेच खेलेको हुन सक्ने आशंकासमेत पार्टीवृत्तमै छ ।

तर, विश्लेषक झलक सुवेदी अघिल्लो साता भएको संवादलाई हेर्दा अध्यक्ष ओलीमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पुनः पार्टी राजनीतिमा स्थान दिने सकारात्मक सोच विकसित भइरहेको संकेतका रूपमा लिनुपर्ने बताउँछन् । ‘पूर्वराष्ट्रपति विद्याको पार्टी सदस्यता नवीकरण नगर्ने अघिल्लो साउनको निर्णयदेखि आइतबार बल्खुमा उनलाई पार्टी नेताकै हैसियतमा प्रमुख अतिथि बनाएर मञ्च दिइएको घटना विपरीत घटनाक्रम देखिन्छन् । यसबाट ओली र भण्डारीबिच यसबिचमै केही न केही सकारात्मक संवाद भएको र अब पार्टीमा स्थान दिनुपर्छ भन्ने ओलीमा सोच विकास भएको हुन सक्छ,’ उनले भने, ‘त्यसैले भण्डारीको राजनीतिक पुनरागमनलाई ‘अवैध’ ठान्दै आएको एमालेले अन्ततः आइतबार आयोजित मदन–आश्रित स्मृति दिवसमार्फत उनको उपस्थितिलाई औपचारिक वैधता दिएको अर्थमा पनि यस घटनालाई बुझ्न सकिन्छ ।’

ओलीले सक्रिय राजनीतिका लागि पार्टीको ढोका बन्द गरे पनि पार्टीभित्र समानान्तर समूहकी संरक्षकका रूपमा रहेकी भण्डारी संस्थापन पक्षका नेताहरूसँग निरन्तर संवादमै थिइन् । २१ फागुनको निर्वाचनमा एमालेले ०४८ सालमा तत्कालीन जनमोर्चा नेपालले प्रत्यक्षतर्फ जितेका नौ सिटबराबरमै सीमित हुनुपर्ने गरी अकल्पनीय धक्का बेहोरेपछि पार्टीभित्र अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने तथा केन्द्रीय कमिटीदेखि पालिका तहसम्म पुनर्गठन अभियान चलाउनुपर्ने आवाज बलियो बन्दै गएको थियो । तर, नेतृत्वमाथि संकट परेका वेला सार्वजनिक रूपमा आलोचना गर्नु उपयुक्त नहुने भन्दै भण्डारीले आफ्ना निकटस्थ नेताहरूलाई समेत आक्रामक अभिव्यक्ति नदिन बारम्बार सचेत गराउँदै आएकी थिइन् ।

राजनीतिशास्त्री कृष्ण पोखरेलका अनुसार ओलीले अहिले विभिन्न राजनीतिक कारणले भण्डारीसँग सकारात्मक सम्बन्ध कायम गर्दै उनलाई अगाडि सार्न खोजेका हुन सक्छन् । तर, उनका अनुसार प्रमुख अतिथि बनाइएको एउटै घटनालाई आधार मानेर अहिले नै ठुलो ‘ब्रेक थ्रु’ भएको निष्कर्षमा पुग्न हुँदैन । ‘पार्टी संकटबाट गुज्रिरहेका वेला संगठनलाई एकताबद्ध राख्नुपर्छ भन्ने मत प्रभावी बन्दै गएपछि ओलीकै सहमतिमा भण्डारीलाई अगाडि सारिएको हुन सक्छ ।

अर्कोतर्फ उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले नै विकल्प खोजेका कारण ओलीले नै संकट टार्न भण्डारीलाई अग्रसर गराउन खोजेको पनि हुन सक्छ,’ उनले भने, ‘पार्टी नेतृत्वबाट बहिर्गमन हुँदा आफू राजनीतिक रूपमा असुरक्षित र साहाराविहीन हुन सक्ने मनोविज्ञान ओलीमा होला, त्यसैले भण्डारीसँग सहकार्य गर्दै केही समय नेतृत्वमा निरन्तर रहने चाहना पनि हुन सक्छ । प्रमुख अतिथिका रूपमा भण्डारीलाई प्रस्तुत गरिएको घटनाले ओली–भण्डारी सम्बन्धमा ‘आइसब्रेक’ हुन लागेको संकेत दिएको छ । तर, एउटै घटनालाई आधार बनाएर ठुलो ‘ब्रेक थ्रु’ भइसकेको निष्कर्ष निकाल्न भने अझै हतार हुने देखिन्छ ।’

ओलीनिकट मानिने सचिव पद्ममा अर्यालले भण्डारीलाई प्रमुख अतिथि बनाइनु अस्वाभाविक नभएको भन्दै पार्टीले अब उनको आगमन नरोक्ने प्रस्ट संकेत गरिन् । ‘राष्ट्रपतिमा बहाल हुँदाबाहेक उहाँ मदन–आश्रित स्मृति दिवसका सबै कार्यक्रममा उपस्थित हुने गर्नुभएको छ । पदावधि सकिएपछि पनि निरन्तर सामेल हुनुभयो । पार्टी स्थापना दिवसमा उहाँलाई विगतमा पनि प्रमुख अतिथि बनाइसकेकाले यो नौलो नभएर स्वाभाविक हो,’ उनले भनिन्, ‘विगतमा उहाँको व्यक्तित्व हेरेर सदस्यता नवीकरण नगर्ने निर्णय गरिएकै हो । साथै, उहाँले आवेदन दिएको हकमा दिन सकिने पनि निर्णय भएको थियो । महाधिवेशनका कारण त्यसवेला रोकिएको भए पनि उहाँले चाहँदा पार्टी सदस्यता दिने कुरामा पार्टीले सोच्न सक्छ । आवेदन गर्दा रोकिँदैन ।’ 

इतरपक्षका नेता कर्णबहादुर थापाले अघिल्लो वर्ष त्यही कार्यक्रममा नामसमेत उच्चारण नगर्ने नेताहरूले नै अहिले प्रमुख अतिथि बनाएका कारण व्यवहारमा बदलाव भन्न सकिने बताए । साथै, थापाले ओलीको सोचमा भने परिवर्तन भएको भन्न नसकिने बताए । ‘अघिल्लो वर्ष उहाँ कार्यक्रममा सहभागी हुँदा नामसमेत उच्चारण गरिएन । अहिले प्रमुख अतिथि नै बनाइएकाले समय र परिस्थितिको बदलावले पार्टीको व्यवहार फेरिएको अर्थमै बुझ्नुपर्छ,’ थापाले भने, ‘पूर्वराष्ट्रपतिज्यू पार्टी संकटमा परेका वेला नेतृत्वका कमजोरीविरुद्ध सार्वजनिक रूपमा बोल्नुहुँदैन भन्ने मान्यतामा दृढ हुनुहुन्छ र उहाँले बोल्नुभएको पनि छैन । तर, पनि अध्यक्षको सोच र व्यवहारमा बदलाव आइसकेजस्तो चाहिँ लाग्दैन । यद्यपि, भण्डारीलाई सदस्यता नदिने पूर्वनिर्णय भने आइतबारको कार्यक्रमले नै खण्डित गरेको छ ।’ 

एमालेले विद्याको सदस्यता नवीकरण नगर्नेबारे निर्णयमा भनेको थियो, ‘पूर्वराष्ट्रपति विद्या भण्डारी राज्यको सर्वोच्च पदमा पुगेको सम्मानित अभिभावक हुनुहुन्छ, त्यस्तो व्यक्तिलाई पार्टीमा फर्काएर कार्यकर्तामा सीमित गर्दा उहाँको मात्र होइन, गणतन्त्रको र पार्टीकै अपमान हुन्छ । उहाँको सदस्यता नवीकरण गर्नु भनेको पार्टी नेता बनाउनु हो । त्यसैले उहाँलाई सम्मानित रूपमा पार्टीबाहिर राख्दा नै हाम्रो प्रणालीको, पार्टीको र उहाँ स्वयंको हित हुने भएकाले नवीकरण नगर्ने निर्णय गरिएको छ ।’

विश्लेषकको बुझाइ
पार्टी नेतृत्वबाट बहिर्गमन हुँदा राजनीतिक रूपमा असुरक्षित र सहाराविहीन हुन सक्ने मनोविज्ञान ओलीमा होला, त्यसैले भण्डारीसँग सहकार्य गर्दै केही समय नेतृत्वमा रहिरहने चाहना पनि हुन सक्छ । यसबिचमा ओली र भण्डारीबिच केही न केही सकारात्मक संवाद भएर अब पार्टीमा स्थान दिनुपर्छ भन्ने सोच विकास भएको पनि हुन सक्छ । तर, एउटै घटनालाई आधार बनाएर ठुलो ‘ब्रेक थ्रु’ भइसकेको निष्कर्ष निकाल्न भने अझै हतार हुने देखिन्छ ।

 पद्मा अर्याल, सचिव, एमाले
विगतमा उहाँको व्यक्तित्व हेरेर सदस्यता नवीकरण नगर्ने निर्णय गरिएकै हो । अब उहाँले चाहँदा पार्टी सदस्यता रोकिँदैन ।

 कर्ण थापा, इतरपक्षका नेता
विद्याको सदस्यता रोक्ने पूर्ववत् निर्णय आइतबारको कार्यक्रमले खण्डित गरेको छ । तर, अध्यक्ष ओलीको सोच र व्यवहारमा बदलाव आइसकेजस्तो लाग्दैन ।

 विद्यालाई प्रमुख अतिथि : उत्तराधिकारी कि दाउपेच ?
विद्यामाथि भरोसा र उत्तराधिकारीको सन्देश

पार्टीभित्र इतर पक्षले चर्को रूपमा उठाइरहेको पुनर्गठन र पुनर्जागरणको मुद्दालाई संस्थापन पक्षकै नेता–कार्यकर्ताले साथ दिँदा ओली बहिर्गमनको संकटले घेरिएका छन् । सारथिहरूकै असहयोग, जेन–जी आन्दोलनमा भएको दमनको मुद्दा, आफ्नै स्वास्थ्य अवस्था र भूराजनीतिक परिस्थितिलगायतले ओलीसँग पहिलाजस्तो शक्ति छैन ।

बरु उनी वाम एकता गराउनुपर्ने दबाबसहित वार्तामा छन् । यहीबिचमा निकटस्थ भनिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले नै भेटेर सम्मानजनक बहिर्गमनका लागि दबाब दिएपछि ओलीमाथि थप नैतिक संकट आइपरेको छ । त्यही कारण पौडेल र पोखरेलले निहुँ खोजे तथा छाड्नै परेको अवस्थामा बरु पुरानै विश्वासपात्र विद्यालाई उत्तराधिकारी बनाउन सकिन्छ भन्ने सन्देश ओलीले दिएको हुन सक्ने कतिपयको बुझाइ छ । 

संकट टार्न इतरपक्ष समेटेर पुनर्जागरण अभियान
एमाले ०४६ पछिकै ठुलो संकटबाट गुज्रिरहेको छ । पछिल्लो चुनावमा प्रत्यक्षतर्फ जम्मा नौ सिट ०४८ मा जनमोर्चा नेपालले जितेको सिटबराबर हो । समानुपातिकतर्फ जम्मा १६ सहित २५ सिट मात्र जितेपछि नेपालमा वाम पार्टीको हालत भारतको पश्चिम बंगालको जस्तो हुन लागेको भन्ने मनोविज्ञानबाट एमाले कार्यकर्ता पनि ग्रसित छन् । यसलाई माथि उठाउन पुनर्जागरणको नेतृत्व गरिरहेकी विद्यासहित पार्टीको जिम्मेवारीबाहिर रहेको ठुलो पंक्तिलाई साथमा नलिई ओली अगाडि बढ्न सक्ने अवस्थामा थिएनन् । त्यही कारण पनि ओलीले सचिवालय बैठकअघि आफ्नै नेतृत्वमा पार्टी एकजुट हुने सन्देश दिएको पनि हुन सक्छ । 

इतरपक्ष कमजोर बनाएर नेतृत्वमा अझै टिकिरहने रणनीति
विद्यालाई साथमा लिँदा पार्टीभित्रका विरोधी स्वर स्वतः मत्थर बन्न सक्ने विश्लेषण पनि एमाले वृत्तमा छ । विशेष गरी नेता विष्णु पौडेल र शंकर पोखरेलले समेत दूरी बढाएपछि आफ्नै गुटभित्रको विभाजन व्यवस्थापन गर्न खोज्ने समूहले नै विद्यालाई अगाडि सार्न चाहेको कतिपयको बुझाइ छ । विद्यालाई निरन्तर ‘इंगेज’ गराइराख्ने, तर आफू पूर्ण रूपमा बलियो नभएसम्म औपचारिक रूपमा पार्टी नेतृत्वमा नल्याउने रणनीतिमा ओली रहेको हुन सक्ने आकलन पनि छ ।

‘नेतृत्वमा आउनु छ भने मेरै माध्यमबाट सम्भव छ, अरूसँग मिलेर होइन,’ भन्ने सन्देश प्रवाह गर्न पनि ओलीले यो दाउपेच अपनाएको हुन सक्ने केही नेताको विश्लेषण छ । त्यसो त राष्ट्रपतिबाट फर्किएपछि अध्यक्ष दिने भन्दै पदमा हुँदा भरपूर उपयोग गरेकाले ओली अहिले पनि विद्यालाई उपयोग गर्ने नीतिमै रहेको हुन सक्छन् । 

नेकपासँग एकता गरेर शक्तिशाली वाम पार्टी बनाउने प्रयास 
एमाले र नेकपासहित कम्युनिस्ट पार्टीहरूको ‘पोजिसन’ अकल्पनीय रूपमा खस्किएकाले सबै पुनर्गठन र एकताको दबाबमा छन् । करिब दुईतिहाइको शक्तिशाली सरकारसँग जुध्न पनि एक ठाउँमा उभिनैपर्ने दबाबमा वाम पार्टीहरू छन् । त्यही कारण ओली, प्रचण्डसहितका नेताहरूबिचको संवाद बाक्लिँदै  गएको छ ।

नेकपाले त बैठकबाटै एकताका लागि आह्वान गरिसकेको छ । ओलीको सट्टा विद्या त्यसको सेतु बन्न सक्ने नेताहरूको बुझाइ छ । आइतबारै नेकपाका संयोजक प्रचण्डले सुर्खेतमा वाम एकताका लागि अरूसँग नभएर एमालेसँगकै एकता बढी सम्भावना रहेको बताएका छन् । 

सुझावित समाचार