महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष ०८१/८२ सम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ । शुक्रबार शीतलनिवासमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका हुन्।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले पछिल्ला वर्षहरूमा सरकारी खर्चमा बेरुजु निरन्तर बढ्दै जानु सार्वजनिक निकायहरूको पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासन कमजोर हुँदै गएको संकेत भएको बताए। उनले बेरुजु फर्स्याेटलाई प्राथमिकतामा राख्दै आर्थिक अनुशासन कायम गर्न सम्बन्धित निकायका पदाधिकारीहरू अझ जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए।

राष्ट्रपति पौडेलले अनियमित खर्च नियन्त्रण गरी वित्तीय अनुशासन प्रभावकारी रूपमा लागू गर्न सके मुलुकमा सुशासन, दिगो विकास, शान्ति र समृद्धिप्रतिको नागरिक तथा युवा पुस्ताको अपेक्षा पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

साथै, महालेखापरीक्षकको कार्यालयको भूमिकालाई आर्थिक अनुशासन कायम गर्न महत्त्वपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले संस्थागत क्षमता विकास, पेसागत दक्षता अभिवृद्धि र आन्तरिक सुशासन सुदृढीकरणमा कार्यालय अझ सक्रिय हुनुपर्ने धारणा राखे।

सुझावित समाचार