सौहार्दपूर्ण भेटवार्तामा ताइवानबारे सीले ट्रम्पलाई दिए चेतावनी

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई चेतावनी दिँदै ताइवान विषयमा चालिन कुनै पनि गलत कदमले दुई देशलाई ‘द्वन्द्व’मा धकेल्न सक्ने बताए ।

प्रायः सौहार्दपूर्ण रहेको सी–ट्रम्प शिखर भेटवार्तामा यो मात्रै एक कठोर टिप्पणी सुनियो । भेटमा ट्रम्पले ‘महान् नेता र मित्र’ भनेर सम्बोधन गरे भनेका थिए । साथै उनले सीलाई सेप्टेम्बरमा ह्वाइट हाउस भ्रमणको निमन्त्रणासमेत दिए ।

ट्रम्पको स्वागतमा भव्य आतिथ्यता प्रदान गरेका सीले पनि अमेरिका र चीन ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ’ भने । तथापि, अगाडि ताइवानको मुद्दाबारे सीधै सम्बोधन गर्दै भने, ‘चीन–अमेरिका सम्बन्धमा ताइवान प्रश्न सबैभन्दा महत्वपूर्ण मुद्दा हो । यदि गलत तरिकामा अघि बढियो भने दुई देशबिच टकराव आउनेछ र द्वन्द्व आउन सक्छन् । यसले सम्पूर्ण चीन–अमेरिका सम्बन्धलाई अत्यन्तै खतरनाक अवस्थामा धकेल्न सक्छ ।’ सी–ट्रम्पबिचको वार्ता दुई घण्टा १५ मिनेटसम्म चलेको थियो । इरानसँगको युद्धले देशभित्र ट्रम्पको अनुमोदन दर घटेको र तत्काल युद्ध रोकिने छनक नदेखिएको समयमा आर्थिक जितको खोजीमा अमेरिकी राष्ट्रपति एक दशकपछि पहिलोपटक चीनमा छन् । 

ताइवानको मुद्दाका बाबजुद पनि दुवै नेताले चीन–अमेरिका सम्बन्धको महत्वबारे खुलेर टिप्पणी गरे । सीसँगको राजकीय भोजमा बोल्दै ट्रम्पले अमेरिका र चीनका नागरिकले लामो समयदेखि एक–अर्काप्रति ‘पारस्परिक सम्मानको गहिरो भावना’ साझा गर्दै आएको बताए । यस कुरामा जोड दिन उनले विभिन्न ऐतिहासिक सन्दर्भसमेत प्रयोग गरेका थिए ।

भोजमा ट्रम्पभन्दा अगाडि बोलेका सीले भने, ‘चीन र संयुक्त राज्य अमेरिकाका जनता दुवै महान् जनता हुन् । चिनियाँ राष्ट्रको महान् पुनरुत्थान र मेक अमेरिका ग्रेट अगेन (अमेरिकालाई पुनः महान् बनाऔँ) सँगसँगै अघि जान सक्छन् । हामी दुवै विश्वास गर्छौं कि चीन र अमेरिकाको सम्बन्ध संसारको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध हो । यसलाई यही रूपमा कायम राखेर यसमा कहिल्यै गडबड आउन दिनुहुँदैन ।’ 

सुझावित समाचार