काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा एक लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा दिएको छ । जसमा ७३ हजार पाँच सय चारजनाले ओपिडी सेवा प्राप्त गरेका छन् । यो संख्या गत आर्थिक वर्षहरूको तुलनामा बढ्दै गएको छ ।
आर्थिक वर्ष ०८०/८१ मा एक लाख २४ हजार ४४ जना सेवाग्राहीमध्ये ३५ हजार ९६६ जनाले ओपिडी सेवा लिएका थिए । आव ०८१/८२ मा एक लाख ९४ हजार १९३ जना कुल सेवाग्राहीमध्ये ओपिडी सेवा लिनेको संख्या ५९ हजार ५९ थियो । यस वर्ष करिब दुई लाख ४० हजार सेवाग्राहीले सेवा लिने आकलन गरिएको छ । बुधबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको बैठक कक्षमा स्वास्थ्य विभागका अधिकारीहरूले स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड मूल्यांकनको नतिजा प्रस्तुतीकरण गर्ने क्रममा चालू आर्थिक वर्षमा प्रवाह गरिसकेको सेवाका विषयमा जानकारी गराएकी हुन्।
अहिलेसम्मको सेवा प्रवाहका विषयमा जानकारी लिइसकेपछि कार्यवाहक प्रमुख डंगोलले शारीरिक र मानसिक स्वास्थ्य सुधारका लागि उपचारात्मक, प्रवर्द्धनात्मक तथा प्रतिरोधात्मक, निदानात्मक र पुनर्स्थापनात्मक सेवाको सन्तुलन कायम गर्न विभागलाई निर्देशन दिइन्। ‘स्वस्थ समाज निर्माणका लागि सबै प्रकारका सेवालाई समान प्राथमिकता दिएर सञ्चालन गर्नुपर्छ । एउटा कार्यक्रम प्रभावकारी भएर अर्को कार्यक्रम कमजोर भयो भने यसले समग्र प्रणालीमा नकारात्मक असर गर्छ भन्ने कुरामा हेक्का राख्नुपर्छ,’ उनले भनिन् ।
स्वास्थ्य विभागले नाै करोड ५४ लाख रुपैयाँ संघ सरकारको बजेटबाट ३० वटा, दुई करोड १९ लाख रुपैयाँ प्रदेश सरकारको बजेटबाट तीनवटा र ८६ करोड २६ लाख ४२ हजार रुपैयाँ महानगरपालिकाको आन्तरिक बजेटबाट १५४ वटा गरी १८७ वटा कार्यक्रम कार्यान्वयन गरिरहेको छ । स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले महानगरपालिकाको कुल बजेटको ३.९ प्रतिशत अर्थात् ९७ करोड ९९ लाख ८२ रुपैयाँ स्वास्थ्य क्षेत्रका लागि विनियोजित भएको बताए ।
महानगरपालिकाका सातवटा वडा निलो र २० वटा केन्द्रले पहेँलो रंग संकेत प्राप्त गरेका छन् । सेतो रंग प्राप्त गर्ने कुनै पनि केन्द्र छैनन् । यो मूल्यांकन ०८२ चैत महिनामा गरिएको हो । सुशासन र व्यवस्थापन क्षेत्रअन्तर्गत ६ वटा उपक्षेत्र, ७५ वटा सूचक र ७६ मूल्यांकन अंक भार छ । श्रेष्ठ भन्छिन्, ‘क्लिनिकल सेवा व्यवस्थापन क्षेत्रअन्तर्गत नाैवटा उपक्षेत्र, १७५ वटा सूचक र २०८ अंक भार र स्वास्थ्य संस्था सहयोगी सेवा व्यवस्थापन क्षेत्रअन्तर्गत नाैवटा उपक्षेत्र, ८६ वटा सूचकको ९५ अंक भारमा मूल्यांकन गरिएको हो । महानगरपालिकाले हरेक वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ ।
उपचारात्मक सेवामा प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य बिमा, सुरक्षित मातृशिशु, सुरक्षित गर्भपतन, क्षयरोग नियन्त्रण, स्वास्थ्य शिविर, फार्मेसी, एकीकृत नवजात शिशु तथा बाल रोग व्यवस्थापन सेवा सञ्चालित छन्। यस्तै, कुष्ठरोग नियन्त्रण सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, आयुर्वेद सेवा, बहुदीर्घकालीन रोग व्यवस्थापन सेवा, डेंगी रोग नियन्त्रणका कार्यक्रम सञ्चालित छन्।
प्रवर्द्धनात्मक सेवामा राष्ट्रिय खोप सेवा, परिवार नियोजन, पोषण, स्वास्थ्य शिक्षा जनचेतना अभिवृद्धि, नसर्ने रोग नियन्त्रण सचेतना महाअभियान, सरुवा रोग नियन्त्रण सेवा, स्वास्थ्य प्रवर्द्धन सेवा, वैकल्पिक चिकित्सा सेवा छन् । यस्तै, विद्यालय स्वास्थ्य शिक्षा, नसर्ने रोगको परीक्षण (स्क्रिनिङ) कार्यक्रम, महामारी रोग नियन्त्रण तथा निवारण, सुरक्षित मातृत्व, योग अभ्यास तथा व्यवहार परिवर्तन अभ्यास, तथ्यांक संकलन, प्रशोधन र प्रतिवेदन निर्माण, अनुसन्धान, स्वास्थ्य संस्थाजन्य फोहाेर व्यवस्थापन कार्यक्रम सञ्चालनमा छन् । निदानात्मक सेवामा प्रयोगशाला सेवा, रेडियोलोजी र र्यापिड डाइग्नोस्टिक टेस्ट कार्यक्रम छन् ।