जेन-जी आन्दोलनमा सामेल भएकै भरमा मुद्दा नलगाइयाेस् : सांसद सृष्टि भट्टराई

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले जेन-जी आन्दोलनमा सहभागी भएकै भरमा मुद्दा नचलाउन सरकारसँग माग गरेकी छिन्। प्रतिनिधिसभाकाे बुधबार बसेकाे बैठककाे शून्य समयमा बाेल्दै सांसद भट्टराईले जेन-जी साथीहरूलाई अझै धरपकड भइरहेकाले याे राेक्न सरकारकाे ध्यानाकर्षण गराएकी हुन्। 

आफ्ना सन्तान गुमाएका आमाहरूकाे रित्ताे काख र दिदीबहिनीकाे भिजेकाे आँखाले आज पनि न्याय मागिरहेकाे अवस्थामा अझै पक्राउ र मुद्दा चल्नु दुर्भाग्य भएकाे बताइन् । 

‘सुशासन, जवाफदेहिता र सम्मानजनक भविष्यकाे खाेजीमा एउटा पुस्ताले फुकेकाे चेतनाकाे शंखघाेषमा केवल सामेल भएकै भरमा हाम्रा साथीहरूलाई पक्राउ गरी धरौटीमा रिहा गर्ने क्रम अझै जारी छ,’ उनले भनिन्, ‘तत्कालै सरकारसँग १०बुँदे सम्झौता गरिए तापनि युवाहरू अझै अदालतकाे ढाेकामा भौँतारिँदै छन्। यस्ताे अवस्थामा एआई र एल्गाेरिदमकाे बहस गर्नुभन्दा जनपीडा ठुलाे विषय हाे। सरकारकाे गम्भीर ध्यानाकर्षण गराउँदछु।’

साथै, गलत व्यक्तिलाई मुद्दा लगाई पक्राउ गरी मानसिक यातना दिएकाे अवस्थामा राज्यले त्यसकाे क्षतिपूर्तिसमेत व्यहाेर्नुपर्ने उनकाे भनाइ थियाे।

सुझावित समाचार