लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय सांस्कृतिक दूतमा फु छियाङ नियुक्त

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु छियाङलाई ‘अन्तर्राष्ट्रिय शिक्षा तथा सांस्कृतिक आदानप्रदान दूत नियुक्त गरेको छ। उपकुलपति प्राध्यापक डाक्टर सुवर्णलाल बज्राचार्यले फुलाई दूत नियुक्तिको प्रमाणपत्र प्रदान गरेका हुन्।

विश्वविद्यालयले दूतमा नियुक्त चिनियाँ नागरिक फु छियाङले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान तथा पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएको जनाएको छ। 

सन् २०२५ देखि सोही विश्वविद्यालयमा वौद्ध दर्शनशास्त्र अध्ययनरत उनले चीनबाट परोपकारी सहयोग जुटाएर नेपाली ग्रामीण बस्तीमा इनार निर्माण, विश्वविद्यालय पुस्तकालयमा सहयोगलगायत विभिन्न परियोजनामा सक्रिय योगदान पुर्याएको छ।

त्यसैगरी, उनले विश्वविद्यालयको शैक्षिक विशेषता र अध्ययन वातावरणबारे चीनमा प्रचारप्रसार गरेकामा विश्वविद्यालयले विशेष मूल्यांकन गरेको बताइएको छ। उनको प्रचारप्रसारबाट चिनियाँ विद्यार्थी विश्वविद्यालयमा आकर्षित भएका छन् भने केही चिनियाँ विद्यार्थी लुम्बिनी बौद्ध विश्वविद्यालयमा भर्ना भएका छन्।

नवनियुक्त दूत फु छियाङले बौद्ध दर्शनशास्त्र अध्ययनमा आफ्नो शैक्षिक यात्रालाई अझ सुदृढ बनाउँदै अन्तर्राष्ट्रियस्तरमा बौद्ध शिक्षाको प्रवर्द्धन गर्ने बताए। उनले नेपालकै एक मात्र बौद्ध विश्वविद्यालयको पहिचान र बौद्ध धर्मको वास्तविक सार विश्वसामु प्रस्तुत गर्ने प्रतिबद्धता जनाए।
 

सुझावित समाचार