विदेशी नागरिकको गतिविधि निगरानी र सुरक्षाका लागि ल्याइएको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएन–एमआइएस)’ कार्यान्वयनमा अध्यागमन विभागले कडाइ गर्ने भएको छ । सञ्चालनमा आएको पाँच महिनासम्म पनि सेवाप्रदायक प्रतिष्ठान प्रणालीमा आबद्ध हुन आनाकानी गरेपछि विभागले कडा कदम चाल्ने तयारी गरेको हो । अध्यागमन विभागले गत १७ पुसदेखि यो प्रणाली कार्यान्वयनमा ल्याएको थियो । हालसम्म ९४ होटेलसहित एक हजार ५४३ सेवाप्रदायक प्रतिष्ठान यसमा आबद्ध भएका छन् । जबकि काठमाडौं उपत्यकामा होटेल, ट्रेकिङ एजेन्सी, एयरलाइन्सलगायत पाँच हजारभन्दा बढी प्रतिष्ठान रहेका छन् ।
विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार अब अध्यागमन कार्यालयबाटै यसको कडाइका साथ सुरुवात गरिनेछ । ‘सूचना प्रणाली कार्यान्वयनमा आएको पाँच महिना भयो । तर, प्रतिष्ठान प्रणालीमा आबद्ध हुन रुचाएजस्तो देखिएन । सबै सेवाप्रदायक प्रतिष्ठान यो प्रणालीमा आबद्ध हुनुपर्छ,’ उनले भने, ‘प्रणालीमा जोडिएका प्रतिष्ठानको नाम मात्रै सूचीकृत हुनेछ । त्यस्ता प्रतिष्ठान मात्रै प्रयोग गर्न विदेशी नागरिकलाई प्रोत्साहन गरिनेछ । प्रणालीमा नआउने सेवाप्रदायकले विदेशी नागरिक पाउने छैनन् ।’
प्रणालीमा आबद्ध होटेल, ट्रेकिङ एजेन्सी र एयरलाइन्सको सूची मात्र अध्यागमनको पोर्टलमा राखिने उनले बताए । विदेशी नागरिकले भिसा फाराम भर्दा प्रणालीमा सूचीकृत भएका होटेलको नाम मात्र छनोट गर्न पाउने गरी सफ्टवेयर विकास गरिने भएको छ । प्रणालीमा आबद्ध नभएका होटेल तथा प्रतिष्ठानहरूले विदेशी पर्यटकलाई सेवा दिन नपाउने गरी प्रोत्साहित गरिने उनले बताए ।
विभागले मंगलबार होटेल एसोसिएसन नेपाल (हान), ट्रेकिङ एजेन्सी अफ नेपाल (टान) र होटेल तथा पर्यटन व्यवसायी संघसँग यस विषयमा छलफलसमेत गरेको छ । साना होटेलहरू संघसंस्थामा आबद्ध नहुँदा र सचेतनाको कमीले प्रणालीमा आबद्धता कम भएको निष्कर्ष निकालिएको छ । आगामी दिनमा आन्तरिक राजस्व विभाग र पर्यटन विभागको सेवासँग यस प्रणालीलाई जोड्ने र अनुगमनलाई तीव्रता दिने निर्णयसमेत भएको छ ।
पाँच महिनामा सवा लाख विदेशी नागरिक अध्यागमनको ‘ट्र्याकिङ’मा
विभागका प्रवक्ता ढकालका अनुसार पछिल्लो पाँच महिनामा ६ लाखभन्दा बढी विदेशी नेपाल आए पनि प्रणालीमा मात्र एक लाख २५ हजारको अभिलेख छ । नेपालमा हाल आठ हजार २०६ जना विदेशी नागरिक विनाभिसा बसिरहेका छन् । पर्यटन भिसामा रहेकामध्ये सयभन्दा बढी र बिजनेस भिसामा रहेका करिब दुई हजार विदेशीको गतिविधि शंकास्पद देखिएको छ ।
के हो विदेशी नागरिक व्यवस्थापन प्रणाली ?
विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीले नेपाल प्रवेश गर्ने विदेशी नागरिकको ‘रियल टाइम ट्र्याकिङ’ गर्छ । विदेशी नागरिक कहाँ छन् । कुन होटेलमा बसेका छन् र कहिले बाहिरिए भन्ने जानकारी यसमा संग्रहित हुन्छ । अध्यागमन विभागको एपमार्फत भिसा आवेदन गर्दा प्राप्त हुने क्युआर कोड होटेलमा देखाएपछि विवरण स्वतः प्रणालीमा दर्ता हुन्छ । क्युआर नहुनेको हकमा पासपोर्ट विवरण प्रविष्ट गर्नुपर्ने हुन्छ । भिसा दुरुपयोग गर्ने र विनाभिसा बस्ने विदेशीको पहिचान गर्न यसले सहयोग पुर्याउँछ ।
विभागका अनुसार एफएन–एमआइएसबाट दुई तरिकाले विदेशी नागरिकमाथि ट्र्याकिङ गर्न सकिन्छ । पहिलो विभागले बनाएको एप्समार्फत र दोस्रो होटेलमार्फत । विभागले विदेशी नागरिकका लागि भिसा अप्लाई गर्न डिपार्टमेन्ट अफ इमिग्रेसन नामको एप विगतदेखि नै सञ्चालनमा ल्याएको छ । अध्यागमन कार्यालयमा पुग्नासाथ कुनै पनि विदेशी नागरिकले विभागको एपमा आफ्नो विवरण एड गर्न सक्छन् । लगत्तै विभागले एउटा क्युआर कोड उपलब्ध गराउँछ । सोही कोड लिएर होटेल जानुपर्छ ।
होटेलमा फाराम भर्न पर्दैन, कोड देखाए पुग्छ । होटेलमा रहेको डिभाइसले कोड रिड गर्छ । जसको विवरण एफएनआरटिएसमा स्वतः दर्ता हुन्छ । होटेलबाट चेक आउट हुँदा पनि विदेशी नागरिकले सोही क्युआर होटेललाई दिन्छन् । डिभाइसले रिड गरेलगत्तै त्यसको विवरण एफएनआरटिएसमा स्वतः दर्ता हुन्छ । क्युआर कोड नलिएका विदेशी नागरिकले भने सम्बन्धित होटेलमा आफ्नो पासपोर्टसहितको विवरण पेस गर्नुपर्छ । होटेलले सम्बन्धित व्यक्तिको विवरण विभागको एफएनआरटिएसमा चढाउँछ । र, तथ्यांक रजिस्टर हुन्छ । यो प्रणाली ट्राभल्स एन्ड टुर र मनी एक्सचेन्जमा पनि कार्यान्वयन भएकाले विदेशी नागरिकको अवस्थिति विभागको जानकारीमा रहन्छ । प्रणालीले भिसा सकिएको र दुरुपयोग भएको जानकारीसमेत विभागलाई गराउँछ ।