- डकवर्थ लेविसअनुसार स्कटल्यान्डले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपालले ३९ ओभरमा सात विकेट गुमाएर २१८ रन जोड्दा दुई रनले पराजित
नेपाल आइसिसी क्रिकेट विश्वकप लिग २ को सिरिजमा स्कटल्यान्डसँग डकवर्थ लेविस नियमअनुसार दुई रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार पहिलो ब्याटिङ गरी स्कटल्यान्डले आठ विकेट गुमाएर २४३ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालको ब्याटिङमा वर्षाले प्रभावित गरेको थियो । फिल्ड अम्पायर बुद्धि प्रधान र फैसल अफ्रिदीले डकवर्थ लेविसअनुसार ३९ ओभरमा २२१ रनको नयाँ लक्ष्य नेपाललाई दिए । नेपालले ३९ ओभरमा सात विकेट गुमाएर २१८ रन मात्र बनाउँदा दुई रनको झिनो अन्तरको हार सामना गर्यो ।
स्कटल्यान्डसँगको हारले नेपालको शीर्ष चारमा रहेर एकदिवसीय मान्यता रक्षा गर्ने कठिन देखिएको छ । नेपालले २५ खेलमा आठ जित र १५ हार सामना गरी १८ अंक बटुलेको छ । नेपाल सातौँ स्थानमा छ । विश्वकप लिग २ मा सर्वाधिक २९ खेल पूरा गरेको स्कटल्यान्डले ३६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्ड रनरेटमा शीर्ष स्थानको अमेरिकासँग पछि छ । अमेरिकाले २४ खेलमा १८ जित र ६ हार सामना गरी ३६ अंक जोडेको छ । नेपालमा सुरु भएको लिग २ को सिरिजमा अमेरिका पनि सहभागी छ ।
डेढ साताअघि भएको विश्वकप लिग २ को सिरिजमा नेपालले आठमध्ये ६ अंक जोडेको थियो । जसमा नेपालले युएईलाई दुई र ओमानलाई एकपटक हराएको थियो । नेपाल ओमानसँग एक खेलमा पराजित भएको थियो । नेपालले अघिल्लो खेलमा जस्तै अमेरिका र स्कटल्यान्डविरुद्ध उत्कृष्ट सुरुवात गर्ने अपेक्षा थियो । नेपालको सिनियर टोलीले सफलता चुम्न सकेन । यसै स्कटल्यान्डको सिनियर टोलीलाई नेपालको ‘ए’ टोलीले दुईवटै अभ्यास खेलमा पराजित गरेको थियो ।
गुल्सन र दीपेन्द्रका प्रयास
नेपालले २२१ रनको लक्ष्य पछ्याउँदा उपकप्तान दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले जितको भरपुर प्रयास गरेका थिए । उनीहरूले अर्धशतकीय योगदान दिँदा पनि नेपालले जित निकाल्न सकेन । दीपेन्द्रले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ५५ रन जोडेका थिए । गुल्सन नटआउट रहँदै ३५ बलमा आक्रामक रूपमा पाँच छक्का र दुई चौकाको सहयोगमा ६१ रनको योगदान दिएका थिए । नेपाल दुई रनले पराजित हुँदा क्रिजबाट बाहिरिने क्रममा गुल्सन भावुक बनेका थिए ।
नेपाललाई अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक थियो । स्कटल्यान्डका क्युरिएले फ्याँकेको ओभरमा नेपालले केवल १० रन बटुल्यो । क्युरिएको ओभरमा गुल्सनले ६ बलमा तीन डट खेले । उनले नन्स्ट्राइकमा रहेका नन्दन यादवलाई स्ट्राइक नै दिएनन् । गुल्सनले ३८.६ ओभरमा छक्का र ३८.२ र ३८.१ ओभरमा समान दुई रन लिएका थिए । नेपालको ब्याटिङमा दीपेन्द्र र कप्तान रोहितकुमार पौडेलबिच चौथो विकेटका लागि ७३ बलमा ७६ रनको साझेदारी भएको थियो ।
करण र गुल्सनले सातौँ विकेटका लागि ३८ बलमा ४० रन जोडेका थिए । गुल्सनले नन्दनसँग नवौँ विकेटका लागि ३१ बलमा ४९ रन जोडेका थिए । विनोद भण्डारी र आसिफ सेखले पहिलो विकेटका लागि ३९ बलमा २१ रन बनाए । नेपालका सेखले २१ रन, विनोदले १० रन, कप्तान रोहितले ३२ रन तथा करणले १८ रन जोडेका थिए । नेपालविरुद्ध स्कटल्यान्डका ब्राड करीले तीन विकेट लिए ।
सन्दीपले लिए चार विकेट
पहिलो ब्याटिङ गरेको स्कटल्यान्डविरुद्ध नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा एक मेडन राखी ४१ रन खर्चेका थिए । यसैगरी, करण र नन्दनले समान दुई विकेट हात पारे । स्कटल्यान्डले ओपनिङ उत्कृष्ट पायो । जर्ज मुन्सी र फिनलाए म्याकक्रेथीले पहिलो विकेटका लागि २० ओभरमा ११४ रनको साझेदारी गरेका थिए । मुन्सीले ६२ बलमा ७५ रन बनाउन १२ चौका र दुई छक्का प्रहार गरे । म्याकक्रेथीले ६२ बलमा ३५ रनको योगदान दिए ।