प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद् बैठक छाडेको विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग जवाफ माग गरेको छ।
पार्टीको तर्फबाट मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद वासना थापाले यस्तो घटना लोकतान्त्रिक संसदीय अभ्यासमा दुर्लभ भएको भन्दै प्रधानमन्त्रीको व्यवहारमाथि प्रश्न उठाएकी हुन्।
उनले संवैधानिक संस्कार, संसदीय परम्परा र सरकारको गम्भीरतामाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीसँग स्पष्ट जवाफ माग गरिन्। उनले यस्ता घटना पुनः नदोहोर्याउन आग्रह गर्दै लोकतन्त्रमा पदभन्दा मर्यादा र जनविश्वास ठुलो हुने कुरामा ध्यान दिन सरकारलाई सचेत गराइन्।