इंग्ल्यान्ड क्रिकेट बोर्डले सन् २०२७ देखि २०३१ सम्म नेपालसँग टी–२० अन्तर्राष्ट्रिय शृंखला राख्ने सम्भावनाबारे छलफल थालेको छ । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली क्रिकेटलाई ठुलो टोलीसँग खेल्ने मौका आवश्यक रहेको उल्लेख गरेका छन् । खड्काले इएसपिएन क्रिकइन्फोलाई उद्धृत गर्दै, ‘हामी तयार छौँ, नेपाल र इंग्ल्यान्डबिचको टी–२० सिरिज क्रिकेट रंगशालामा गर्नका लागि’ भनेर सामाजिक सञ्जालमा पोस्ट पनि गरेका छन् ।
अहिलेसम्म कुनै पनि टेस्ट खेल्ने राष्ट्रले नेपालमा आएर औपचारिक अन्तर्राष्ट्रिय शृंखला खेलेको छैन । गत वर्ष नेपालले वेस्ट इन्डिजलाई तीनवटा टी–२० आई सिरिजमा २–१ ले हराउँदै सनसनी नतिजा निकालेको थियो । नेपालले पहिलोपटक पूर्ण सदस्य राष्ट्रविरुद्ध शृंखला जितेको थियो । यसैबिच, आयरल्यान्डले पनि सन् २०२६–२७ मा नेपाल भ्रमण गर्ने तयारी गरिरहेको छ ।
गत मार्चमा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेका आइसिसी टी–२० विश्वकपमा नेपालले इंग्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गरेको थियो । जसमा इंग्ल्यान्डले झिनो चार रनले नेपाललाई अन्तिम ओभरमा हराएको थियो । त्यसपछि भारतमै नेपाल क्रिकेट संघका सचिव तथा पूर्वकप्तान पारस खड्काले इंग्ल्यान्ड क्रिकेट बोर्डका अधिकारीसँग भेटवार्ता गरेका थिए । खड्काले पनि नेपाली क्रिकेटलाई अहिले सबैभन्दा बढी अन्तर्राष्ट्रिय अवसर र ठुलो टोलीसँग खेल्ने मौका आवश्यक रहेको बताएका छन् । यसैगरी, क्यानका प्रवक्ता छुम्बी लामाले इंग्लिस क्रिकेट बोर्डसँग छलफल भइरहेको बताए ।