नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिको काम अगाडि नबढाउने कमिटीका पदाधिकारीलाई जिम्मेवारी हटाइने बताएका छन् ।
धनगढीमा आज काँग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले क्रियाशील सदस्यता ‘अपटेड’को काम नरोकिने प्रष्ट पारे । पार्टी सदस्यले आफ्नो सभापति र सभापति सदस्यसँग जोड्न सकियोस् भनेर प्रत्येक सदस्यको डिजिटल पहिचान राख्न खोजिएको उनले बताए । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने क्रियाशील सदस्यता अद्यावधिप्रति असहमित जनाउँदै आएको छ ।
‘प्रत्येक सदस्यको डिजिटल पहिचान पार्टी कार्यालयसँग जोड्न खोजेको हो । यो कुरा गर्नलाई आपत्ति जनाउनुपर्ने केही पछि छैन’ उनले भने, ‘तर कुनै पनि तहको चाहे जिल्ला सभापति होस, चाहे क्षेत्रीय होस्, चाहे वडा सभापति, कसैले पनि म अपडेट अगाडि बढाउँदैन भन्छ भने त्यो साथी बदलिन्छ, उसको ठाउँमा नयाँ साथी आउँछ । यसमा तलमाथि केही कुरा छैन ।’
सुदूरपश्चिममा देउवा पक्षका जिल्ला सभापति र नेताहरुको हालै काठमाडौँमा भएको भेलाले क्रियाशील सदस्यता अद्यावधिको काम अगाडि नबढाउने निर्णयनै गरेको थियो। सभापति थापाले भने क्रियाशील सदस्यता अपडेटमा आपत्ति जनाउनु पर्ने कारण नरहेको भन्दै यो काम नरोकिने प्रष्ट पारेका छन् । ‘हामी अपटेड हुन दिन्नौँ, अपडेट गर्दैनौँ भनेर भन्यो भने कि यो कुरा नबुझिएको हो, कुरा नबुझेकोलाई बुझाउने हो, कुरा बुझिबुझि जबरजस्ती गरेको हो भने अगाडि बढ्ने हो । यसमा कुनै अलमल छैन’ सभापति थापाले भने ।
उनले गत चुनावमा रुखबाहेक अन्त भोट हालेका पार्टीका नेता र सदस्यलाई कारबाही गरिने पनि बताए । पार्टी जिम्मेवारीमा रहेर पार्टीकै उम्मेदवारलाई यो चुनावमा भोट नहालेका नेताहरुलाई केही समय जिम्मेवारी बाहिर राखिने उनको भनाइ थियो ।
‘काँग्रेसको क्रियाशील सदस्य हुने, नेता हुने, काँग्रेसको तर्फबाट सांसद बन्ने, मन्त्री बन्ने, महाधिवेशन प्रतिनिधि हुने तर मलाइ उम्मेदवार मन परेन, त्यसकारण अर्कै चिन्हमा भोट हालेँ भन्न पाइदैन’ सभापति थापाले भने, ‘जसले यो निर्वाचनमा पार्टीको जिम्मेवारीमा बसेर उम्मेदवारलाई असहयोग गर्नुभो, उहाँलाई केही समय त्यो जिम्मेवारीबाट बाहिर राख्नैपर्छ, राखिन्छ । यसमा कहाँ, को कुनै इफ, बट केही पनि छैन ।’
सभापति थापाले पार्टीमा सबै पक्षलाई मिलाएर लैजान आफूले नेताहरुसँग छलफल गरिरहेको पनि बताए । केन्द्रीय समितिबाहिर रहेका नेताहरुलाई केन्द्रीय समितिमा जोड्ने, नयाँ केन्द्रीय समितिमा ल्याउने र सबैलाई मिलाएर समयमै महाधिवशेनमा जाने प्रयासमा आफूहरु रहेको उनको भनाइ थियो ।