राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिबाट राजीनामा दिएका छन् । उनका दाइ डा. गोपाल भट्टले बोर्ड अध्यक्षका लागि आवेदन दिएपछि नैतिकताका आधारमा उनले पदबाट अलग भएको बताएका हुन् ।
सरकारले सेबोन अध्यक्ष नियुक्तिका लागि भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल रहेका थिए । उपाध्यक्ष भट्टले आफ्ना दाइले आवेदन दिएपछि नियुक्ति प्रक्रियामा स्वाभाविक रूपमा प्रश्न उठ्न सक्ने भएकाले राजीनामा दिएको बताए ।