सडक दुर्घटना न्यूनीकरण गर्न ‘शुभयात्रा अभियान’

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न स्थानीय अभियन्ताले ‘शुभयात्रा अभियान’ सञ्चालन गरेका छन् । सामाजिक अभियन्ता रमा मगरको संयोजकत्वमा गठन भएको सुरक्षित सडक अभियान उदयपुरले गत मंगलबारदेखि एक हप्ते सडक सचेतनामूलक कार्यक्रम सुरु गरेको हो ।

सुनसरीको चतरादेखि कटारी नगरपालिकासम्म फैलिएको करिब ११० किलोमिटर सडकखण्डमा पछिल्ला वर्षहरूमा दुर्घटनाको संख्या बढ्दै गएपछि स्थानीय समुदायको सक्रियतामा अभियान थालिएको संयोजक मगरले बताइन् । उनका अनुसार अभियान झन्डै एक सातासम्म सञ्चालन हुनेछ । ‘दुर्घटनाले धेरै परिवार प्रभावित भएका छन् । आफ्नै आँखाअगाडि दुर्घटनामा आफन्त गुमाउने, घाइते बोक्ने र सडकमा छरिएको पीडा देखेका छौँ । त्यसैले नागरिकस्तरबाट पनि सडक सुरक्षामा सचेतना फैलाउने प्रयास गरेका हौँ,’ मगरले भनिन् ।

मदन भण्डारी लोकमार्गले बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिकालाई जोडेको छ । यस सडकखण्डअन्तर्गत उदयपुरगढी गाउँपालिका– ७ को अँधेरी क्षेत्रलाई सबैभन्दा जोखिमपूर्ण मानिन्छ । घुमाउरो सडक, उकालो–ओरालो र तीव्र गति दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको भनाइ छ । 

अभियानमा सहभागी युवाहरू बिहान, दिउँसो र साँझ व्यस्त समयमा सडक किनारमा उभिएर चालकलाई सावधानी अपनाउन आग्रह गरिरहेका छन् । उनीहरूले हेल्मेट र सिटबेल्ट प्रयोग गर्न, ओभरस्पिड नगर्न तथा मादक पदार्थ सेवन गरेर सवारी नचलाउन सन्देश दिइरहेका छन् । संयोजक मगरले सडक सुरक्षा केवल प्रहरीको जिम्मेवारी नभई सबै नागरिकको साझा दायित्व भएको बताउँछिन् । ‘दुर्घटनाले हाम्रो समाजलाई प्रत्यक्ष असर गरिरहेको छ । त्यसैले सबै नागरिक सचेत हुन आवश्यक छ,’ उनले थपिन् । 

अभियानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र नेपाल प्रहरीको समेत सहकार्य रहेको छ । ट्राफिक प्रहरीले विद्यालयहरूमा सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । विद्यार्थीमार्फत घर–घरमा सुरक्षित यात्राको सन्देश पुर्याउने उद्देश्य राखिएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका निमित्त प्रमुख वरिष्ठ सइ रमेश धमलाका अनुसार सप्तकोशी चतरादेखि कटारी ककुरखोला खण्डअन्तर्गत उदयपुरगढी गाउँपालिका– ७ को अँधेरी झर्नादेखि जोगीटोलसम्मको तीन किलोमिटर सडक सबैभन्दा जोखिमयुक्त क्षेत्र हो । उक्त सडकखण्डमा लगातार घुम्ती, उकालो र ओरालो रहेका कारण दुर्घटना बढी हुने गरेको उनले बताए ।

धमलाका अनुसार ठुला चारपांग्रे सवारीसाधन ब्रेक फेल भएर तथा मोटरसाइकल र साना सवारी तीव्र गतिका कारण दुर्घटनामा पर्ने गरेका छन् । उनका अनुसार उदयपुर खण्डमा करिब दुई दर्जन स्थानलाई दुर्घटनाग्रस्त क्षेत्रका रूपमा पहिचान गरिएको छ । बाकुन्द्रे खोला, मुस्कान चोक, घुम्ने, द्वार खोलापुल, इक्राहा, फुलजोर, भातिखर्क, झिल्केटोल, झोडा, अँधेरी–जोगीटोल, तिनचोके, बिजुले मोड, भुल्के र डाङडुङे मोड दुर्घटनाग्रस्त क्षेत्र मानिएका छन् । सडक दुर्घटना बढ्दै गएपछि सरोकारवालाले सडकको भौगोलिक अवस्थाबारे थप अध्ययन गर्न माग गर्दै आएका छन् । दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा चेतनामूलक बोर्ड, कन्भेक्स मिरर, प्लास्टिक ड्रम तथा अँधेरी–जोगीटोल क्षेत्रमा ‘रम्बल स्ट्रिप’समेत राखिएको छ ।

सुझावित समाचार