प्रतिनिधिसभाका सांसद जगदीश खरेलले आफूमाथि मिडिया ट्रायल भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले आफू स्विटजरल्यान्डमा रहेको र केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको आरोप लगाए।
भ्रामक, नियोजित तथा कपोलकल्पित प्रहारले आफ्नो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्छु भनेर नसोच्न चेतावनी दिए।उनले लेखेका छन्, ‘अहिले ममाथि मिडिया ट्रायल भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ । कृपया भ्रममा नपर्नुहोला ।’
उनले भनेका छन्, ‘अहिले म कार्यक्रमको सिलसिलामा स्विटजरल्यान्डमा छु । गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तव्यका लागि पर्याप्त छ । यस्ता भ्रामक, नियोजित तथा कपोलकल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्छु भनेर नसोचे हुन्छ । बाँकी कानुनी उपचार खोज्ने छु।’
खरेलमाथि स्मार्ट सेलमा संलग्न रहेको भनी समाचार आएको थियो ।