वैशाख २८ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते दिउँसो २ बजेलाई संघीय संसद्को अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनको अधिवेशन आह्वान गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
यसअघि वैशाख १७ गतेलाई आह्वान भएको संसद् अधिवेशन सरकारकै सिफारिसमा राष्ट्रपतिले स्थगित गरेका थिए।
संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज, कर्मचारीको गुनासो सुनुवाइको व्यवस्था
सरकारले संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज गरेको छ । केही नेपाल ऐन संशोधन अध्यादेशमार्फत संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज गरिदिएको हो ।
खारेज गरेर कर्मचारीको गुनासो सुनुवाइको व्यवस्था राखिएको छ । कर्मचारीले सेवा, सर्त, सुविधा र कर्मचारीसँग सरोकार राख्ने विषयमा आफूलाई मर्का परेको छ भन्ने लागेमा कार्यालय प्रमुख वा कार्यालय प्रमुखले तोकेको अधिकृतसमक्ष आफ्नो पीर मर्का र गुनासो लिखित वा मौखिक रूपमा राख्न सक्ने व्यवस्था मिलाइएको छ ।
गुनासो प्राप्त भएमा बढीमा ३० दिनभित्रमा गुनासो फर्स्याेट गर्नुपर्ने हुन्छ । संघीय संसद् सचिवालयसम्बन्धी ऐन, २०६४ को दफा ७३ मा कर्मचारी युनियनसम्बन्धी व्यवस्था थियो ।
ट्रेड युनियनका कार्यालय बन्द गर्न र आबद्धहरूलाई सुविधा फिर्तासहित काममा फर्किन सरकारको निर्देशन
ट्रेड युनियनका कार्यालय बन्द गर्न र आबद्ध कर्मचारीहरूलाई सुविधा फिर्तासहित काममा फर्किन सरकारले निर्देशन दिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार मन्त्रालय, विभाग, आयोग, सचिवालय र निकायहरूसमेत सबै सरकारी कार्यालयहरूलाई एकमुस्ट पत्राचार गर्दै ट्रेड युनियनको नाममा गतिविधि रोक्न र काममा फर्किन निर्देशन दिएको हो।
अध्यादेशमार्फत ट्रेड युनियनहरू खारेज गरिएपछि सरकारले त्यसको आधारमा थप कदम अघि बढाएको हो। मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निर्देशनसहित पत्राचार गरेको छ।
रोपाइँमा कम्तीमा दुई लाख टन मल चाहिने, गोदाममा डेढ लाख टन मौज्दात
असार र साउनको रोपाइँमा करिब दुई लाख टन अनुदानबापतको रासायनिक मलको माग हुने गरेको छ । तर, कृषि सामग्री र साल्ट ट्रेडिङको गोदाममा अहिले एक लाख ४७ हजार टन मात्रै मौज्दात रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
गोदाममा रहेको मल अहिले नियमित रूपमा बिक्री भइरहेका कारण असार–साउनमा माग बढ्ने वेलामा आपूर्ति सहज गर्न कठिन हुने अवस्था छ । कृषि मन्त्रालयका अनुसार रोपाइँको समयमा एक लाख २० हजार टन युरिया र ८० हजार टन डिएपी आवश्यक पर्छ । सरकारको गोदामा अहिले ९५ हजार टन युरिया र ५२ हजार टन डिएपी मौज्दात रहेको छ ।
दूरसञ्चार प्राधिकरणलाई ठगी गरेको आरोपमा स्मार्ट सेलका तत्कालीन सञ्चालक पक्राउ
ठगी तथा आपराधिक लाभ मुद्दामा स्मार्ट सेलका तत्कालीन सञ्चालक सर्वेश जोशी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई सोमबार खुर्सानीटारबाट पक्राउ गरेको हो।
सो कम्पनीको इजाजतपत्र रद्द भइसकेको छ। इजाजतपत्र रद्द भइसकेपछि कम्पनीको सम्पत्ति स्वतः दूरसञ्चार प्राधिकरणको हुने प्रावधान छ। तर, कम्पनीले कतिपय सामान लिलामी गरेर ठगी गरेको घटनामा सिआइबीले उनलाई पक्राउ गरेको हो।
दोहोर्याएर पठाएपछि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पुनः सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी (पहिलो संशोधन) अध्यादेश राष्ट्रपतिले जारी गरेका छन् ।
सरकारले पठाएका आठ अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा पुनर्विचार आवश्यक रहेको भन्दै राष्ट्रपतिले फिर्ता पठाएका थिए। राष्ट्रपति पौडेलले आइतबार फिर्ता गरेको अध्यादेश सरकारले पुरानै स्वरूपमा अर्को दिन पुनः सिफारिस गरेपछि राष्ट्रपति नैतिक संकटमा परेका थिए ।
दोहोर्याएर आएको अध्यादेश फिर्ता गर्ने संवैधानिक व्यवस्था नरहेकाले राष्ट्रपतिले मंगलबार जारी गरेका हुन् ।
अदालतले शेखर गोल्छालाई हिरासतमा राख्न म्याद थप अनुमति दिएन
जिल्ला अदालत काठमाडौंले शेखर गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न अस्वीकार गरेको छ।
मंगलबार न्यायाधीश मोना सिंहको एकल इजलासले गोल्छालाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै म्याद थप गर्न अस्वीकार गरेको हो।
बिपी राजमार्गको रोशीखण्ड राति १२ घण्टा बन्द हुने
बिपी राजमार्गको रोशीखण्डमा जोखिम बढेसँगै अनिश्चितकालका लागि रातको १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार सूचना जारी गर्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म भकुन्डेबेँसीदेखि खुर्काेटसम्म यातायात सञ्चालनमा रोक लगाएको हो।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले मंगलबार बेलुकादेखि नै बाटो बन्द गर्न थालिएको जानकारी दिए। उनका अनुसार अब अर्को सूचना जारी नहुँदासम्म साँझ ५ देखि बिहान ५ बजेसम्म दैनिक १२ घण्टा राजमार्ग बन्द गरिनेछ।
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारीसाधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
सरकारले स्थलमार्गबाट नेपाल आउने सवारीसाधनको अनलाइनबाट दर्ता सेवा सुरु गरेको छ ।
अर्थ मन्त्रालयमातहतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारीसाधनले अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो ।
उक्त प्रणालीको एक कार्यक्रमबिच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुभारम्भ गरेका छन्।
नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजस्व तिर्न सक्ने विभागले जनाएको छ।
गौशालास्थित धर्मशालाको विवादमा पशुपति विकास कोषको पक्षमा फैसला, मारवाडी सेवा समिति हट्नुपर्ने
पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिको विवादमा उच्च अदालत पाटनले सुरु सदरको फैसला गरेको छ । यससँगै जिल्ला अदालत काठमाडौंबाट भएको गौशालास्थित धर्मशालाको स्वामित्व कोषकै हुने फैसला कायम रहने भएको छ ।
उच्चका न्यायाधीशहरू खड्कबहादुर केसी र रमेशप्रसाद ज्ञवालीले सोमबार सुरु सदरको फैसला गरेका हुन् । २१ मंसिर ०८१ मा मारवाडी सेवा समिति र पशुपति गौशाला धर्मशाला जिल्लाको फैसलाविरुद्ध उच्च पुगेका थिए । करार बदरको मुद्दामा जिल्ला अदालतले १६ असोज ०८१ मा फैसला भएको थियो । फैसलामा कोष र समितिबिचको सम्झौतामाथि नै प्रश्न उठाइएको थियो ।