लागुऔषध खैरो हेरोइनसहित प्रहरी चौकी हिलेले दुईजनालाई पक्राउ गरेको छ। प्रहरी टोलीले नाै सय मिलिग्राम खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका– १, हिलेका ३५ वर्षीय वसन्त मोक्तान र ४० वर्षीय सुवासकुमार राई रहेका छन्। लागुऔषधसहित पक्राउ परेका मोक्तान र राईलाई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएर आजै लागुऔषधअन्तर्गतको मुद्दा जिल्ला अदालत धनकुटामा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।
फलामको पाइपले हानी गम्भीर घाइते बनाएर फरार पक्राउ
यता साँगुरीगढी गाउँपालिका– ७ का ६१ वर्षीय गुर्जासिंह राईलाई टाउकोमा फलामको पाइपले प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका साँगुरीगढी– ८ का १९ वर्षीय समीर मुदेल र २१ वर्षीय दलबहादुर मुदेललाई पनि प्रहरीले पक्राउ गरेको छ।
तमोर करिडोर सडकखण्डमा वैशाख २१ गते सामान्य विवाद हुँदा उनीहरूले गुर्जासिंह राईलाई फलामको पाइप प्रहार गरी गम्भीर घाइते बनाएका थिए। उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले बताएको छ।
घटनापश्चात् फरार मुदेलद्वयलाई मंगलबार पक्राउ गरी जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ।