छथरजोरपाटी गाउँपालिकामा कफी बनाउने तालिम सुरु

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

धनकुटाको छथरजोरपाटी गाउँपालिकामा कफी बनाउने तालिम सुरु भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खटिएका निर्वाचन सुरक्षा प्रहरीलाई उद्यमशील र आत्मनिर्भर बनाउने उद्देश्यसहित छथरजोरपाटीको सिँधुवामा कफी बनाउने तालिम सुरु गरिएको हो ।

धनकुटाको सिँधुवा बजारमा १५ दिनसम्म सञ्चालन हुने तालिममा १७ जना पूर्वनिर्वाचन सुरक्षा प्रहरी सहभागी रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका अनुसार निर्वाचन सुरक्षामा खटिएका प्रहरीकै मागका आधारमा कफी बनाउने तालिम आयोजना गरिएको हाे ।

धनकुटामा प्रतिनिधिसभा निर्वाचनका क्रममा एक हजार ८५ जना निर्वाचन सुरक्षा प्रहरी परिचालन गरिएको थियो । उनीहरूलाई निर्वाचन सम्पन्न भएपछि केही सिप सिकाएर दक्ष बनाउने लक्ष्यसहित कफी बनाउने तालिम दिइएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए । 

सिपमूलक तालिमले पूर्वनिर्वाचन सुरक्षा प्रहरीलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त उनले गरे । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँगको समन्वयमा इच्छुक अन्य निर्वाचन सुरक्षा प्रहरीलाई पनि यसप्रकारका व्यावसायिक तथा सिपमूलक तालिम प्रदान गर्ने तयारी भइरहेको प्रजिअ खड्काले बताए ।
 

सुझावित समाचार