लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सिद्धार्थनगर नगरपालिका दुई रुपन्देहीस्थित बहिरा बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले शिक्षालाई विद्यार्थीको चाहना, क्षमता र भविष्यसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताएका हुन् ।
उनले अपांगता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको भन्दै फरक क्षमता भएका विद्यार्थीलाई आत्मनिर्भर र उद्यमशील बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको बताए। मुख्यमन्त्री आचार्यले राज्यले फरक क्षमता भएका नागरिकका लागि अवसर सिर्जना गरिरहेको उल्लेख गर्दै यस्ता विद्यार्थीहरूको पठनपाठन र सिप विकासका विषयमा नजिकबाट बुझ्न पाउँदा खुसी लागेको सुनाए ।
०३२ सालदेखि सुनाइसम्बन्धी समस्या भएका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले विशेष शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको उनको भनाइ थियो। विद्यालयले नेपालसँगै छिमेकी मुलुक भारतका विद्यार्थीहरूलाई समेत समेट्दै समावेशी शिक्षा प्रदान गर्दै आएको छ ।
आवासीय सुविधा, पूर्वप्राथमिकदेखि कक्षा १२ सम्मको अध्ययन तथा सिपमूलक तालिममार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने प्रयास गरेको विद्यालयले जनाएको छ। अपांगता भएका बालबालिकाका लागि पहुँचयुक्त, समावेशी र व्यावहारिक शिक्षा प्रणाली विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले यस्ता विशेष विद्यालयहरूको सुदृढीकरण, स्रोतसाधन विस्तार तथा दक्ष जनशक्ति व्यवस्थापनमा निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे ।