मोरङको पथरीमा सुकुमवासीहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्। बालेन सरकारले जथाभावी डोजर लगाएर हटाउन थालेको भन्दै पथरी बजारमा श्रम संस्कृति पार्टीको नेतृत्वमा सुकुमवासीहरूले आइतबार विरोध प्रद्रशन गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको बालेन शाह सरकारले हुकुमवासीको बहानामा हतारमा बल प्रयोग गरेर सुकुमवासीलाई उठिबास लगाउन थालेको भन्दै उनीहरूले सरकारको कडा विरोध गरेका छन् ।
सरकारको विरोध गर्दै प्रदर्शनमा उत्रिएका सुकुमवासीहरूले वास्तविक लगत संकलन र भरपर्दो वैकल्पिक व्यवस्था गरेर मात्र सरकारी जमिनमा बसेका अव्यवस्थित बासोबासीहरूलाई हटाउनुपर्ने, वर्षाैँदेखि बसोबास गर्दै आएका सुकुमवासीहरूलाई भूमिको अधिकार प्रदान गर्नुपर्ने र भूमिको दोहोरो स्वामित्व अन्त्य गराउनुपर्ने माग गरेका छन्।
मोरङको क्षेत्र नम्बर ३ मा पर्ने पथरी शनिश्चर र लेटाङ नगरपालिकाका अनि कानेपोखरी गाउँपालिकामा वर्षौँदेखि बसोबास गर्दै आएका तीन हजारभन्दा बढी सुकुमवासीहरू दोहोरो भूस्वामित्वको मारमा छन्। दोहोरो भूस्वामित्वको क्षेत्रमा ०४८ सालदेखि नै चुनावी मुद्दा बन्दै आइरहेको छ। तर, संघ, प्रदेश र पालिकामा विजयी हुन चुनावी प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूले दोहोरो भूस्वामित्वको समस्या अन्त गर्ने प्रतिबद्धता जनाए पनि यो समस्याचाहिँ वर्षाैँ बितिसक्दा पनि अझै ज्युँकात्युँ नै रहेको छ ।
पथरी शनिश्चरे, लेटाङ नपा र कानेपोखरी गाउँपालिकाका विभिन्न वडामा बसोबास गर्ने सुकुमवासीहरूले जनप्रतिनिधि निर्वाचित भएपछि भूिको दोहोरो स्वामित्व समाधान हुने र आफूहरूले जग्गाको लालपुर्जा पाउने विश्वास गर्दै हरेक वर्ष यहाँका बासिन्दाहरूले उम्मेदवारलाई मत दिएर निर्वाचित गराउँदै आएका छन् । तर, चुनाव जित्नका लागि प्रतिबद्धता गरेर विजयी भएका उम्मेदवारहरू त्यसपछि भने यो मुद्दामा चुपचाप हुने गरेका छन्। हाल मोरङको ३ नम्बर क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्की प्रतिनिधिसभा सांसद छन् ।