सुकुमवासी व्यवस्थापन प्रक्रियाप्रति कांग्रेस सभापति थापाको असन्तुष्टि- ‘मानवीय संवेदना र आत्मसम्मान कुल्चिएर लखेट्ने काम बन्द होस्’

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण

कांग्रेस सभापति गगन थापाले मानवीय संवेदना र आत्मसम्मान कुल्चिँदै सुकुमवासीमाथि राज्यले कैदीबन्दीजस्तो व्यवहार गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन् । थापाले शुक्रबार सामाजिक सञ्जालमार्फत लामो टिप्पणी सार्वजनिक गर्दै संविधान र कानुन मिचेर सरकारले सुकुमवासी व्यवस्थापनमा गलत प्रक्रिया अपनाएको आरोप लगाएका छन् ।

‘शक्ति प्रदर्शन कि प्रक्रियागत न्याय ? भूमिहीनको अधिकार र राज्यको दायित्व’ शीर्षकमा उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । ‘कानुनको बाटो धैर्यपूर्ण र प्रक्रियागत हुन्छ । यसले क्षणिक ताली र लाइक्स नदेला । तर, के राज्य सधैँ तालीकै पछि लाग्ने हो ? मानवीय संवेदना र आत्मसम्मानलाई कुल्चेर नागरिकलाई ‘कैदीबन्दी’झैँ व्यवहार गर्नु के राज्यको अभिभावकीय भूमिका हो ? विकल्प र पहिचान नगरी बलपूर्वक उठीवास लगाउनु लोकतन्त्रकै उपहास हो,’ उनले भनेका छन् ।

थापाले विधि मिचेर सुकुमवासी बस्ती भत्काइँदा लोकतन्त्रकै जग कमजोर बनिरहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । ‘डोजरले नागरिकको झुपडी मात्र होइन, उनीहरूको मर्यादा र राज्यप्रतिको भरोसा पनि भत्काएको छ । सस्तो लोकप्रियताका लागि गरिएको यो निर्मम प्रहारले सडक त खाली गराउला, तर यसले लोकतन्त्रको जग कमजोर बनाउँछ,’ थापाले लेखेका छन् ।

थापाले पुनर्स्थापनाको आधार तयार नगरी सुकुमवासीलाई विस्थापित गर्ने कार्य तत्काल रोक्न आग्रह गर्दै तीनबुँदे सुझावसमेत दिएका छन् । ‘नदीकिनार खाली गर्नैपर्छ, तर त्यो काम ‘डोजर’ले होइन, ‘कानुन’को प्रयोग गरेर गर । नक्कली सुकुमवासीलाई दण्ड देऊ, तर वास्तविक भूमिहीनलाई पहिचान नगरी, पुनर्स्थापनाको आधार नबनाई, धम्क्याएर र लखेटेर हटाउने काम तत्काल बन्द गर,’ थापाले भनेका छन्, ‘सुकुमवासी समस्या पालेर होइन, समाधान गरेर मात्र सकिन्छ । राज्य ‘रुल बाई ल’ (शक्ति) होइन, ‘रुल अफ ल’ (कानुन)को बाटोमा हिँडोस् ।’ उनले राज्यको सामर्थ्य डोजरको दाँतमा होइन, कानुनको न्यायपूर्ण कार्यान्वयनमा देखिनुपर्ने भन्दै सजगसमेत गराएका छन् ।

भूमिसम्बन्धी ऐनको सातौँ र आठौँ संशोधन पारित गराउन आफू र विश्वप्रकाश शर्माले खेलेको भूमिकासमेत स्मरण गर्दै थापाले सोही कानुनको प्रभावकारी कार्यान्वयनबाट सुकुमवासी समस्या समाधान सम्भव रहेको जिकिर गरेका छन् ।

उता, मे दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रममा थापाले सरकार सुकुमवासीलाई ठोकिदिन्छु, हानिदिन्छु भन्ने निरंकुश शैलीबाट चल्न खोजेकोप्रति आपत्ति जनाए । ‘नयाँ काम गर्छु भन्ने सरकारले कानुनभन्दा बाहिर गएर ‘ठोक्दिन्छु, हान्दिन्छु’ भन्ने शैली देखाउन खोजेको छ, यसले देशलाई सही दिशातर्फ लैजाँदैन,’ उनले भनेका छन् । 

सुझावित समाचार