ल फर्म विस्फाेट घटनामा लेखापढी व्यवसायी कारागार चलान
जिल्ला सदरमुकाम सिराहास्थित ल फर्ममा भएको विस्फाेटको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएका सोही फर्ममा काम गर्ने लेखापढी व्यवसायी पुर्पक्षका लागि कारागार चलान भएका छन्।
सिराहा जिल्ला अदालतका न्यायाधीश ओमबहादुर सोडारीको एकल इजलासले बिहीबार दिएको आदेशबमोजिम करिब २९ वर्षीय गुमस्ताकुमार यादव कारागार चलान गरिएका हुन्। सिराहाको सुखीपुर नगरपालिका– ३, लक्ष्मीनिया घर भएका यादवविरुद्ध जिल्ला अदालतमा १४ वैशाखमा दर्ता भएको बम विस्फाेट गराई ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दामा बिहीबार भएको तेस्रो पूरक पेसीमा कारागार पठाइएको हो।
नदीकिनार डोजरले होइन, कानुनमार्फत खाली गर्नुपर्छ : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले धम्क्याएर र लखेटेर सुकुमवासीलाई हटाउने काम तत्काल बन्द गर्न माग गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत थापाले वास्तविक भूमिहीनलाई पहिचान नगरी र पुनर्स्थापनाको आधार नबनाई डोजर चलाउने काम रोक्न भनेका हुन्।
संविधानअनुसार भूमिहीन दलित र सुकुमवासीलाई एकपटकका लागि जग्गा उपलब्ध गराउने कानुनी व्यवस्था गरिएको स्मरण गराउँदै उनले वास्तविक पीडितको पहिचान र पुनर्स्थापनाको नीतिगत बाटो प्रस्ट रहेको बताएका छन्।
सुकुमवासीको आवरणमा राज्यलाई ठग्ने अपराधीलाई कारबाही गर्नैपर्नेमा जोड दिँदै उनले लेखेका छन्, ‘...आजको सरकारसँग प्रचण्ड बहुमत छ। हामी सहयोगी बन्न तयार नै थियौँ। सडकमा डोजर चलाउनुभन्दा त्यही कानुनलाई प्रयोग गरेर दशौँ गुणा तीव्र गतिमा काम गर्न सकिन्थ्यो।’
संगठनमा थिति बसाएर सेवानिवृत्त भए सशस्त्र प्रहरीका आइजिपी अर्याल
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल शुक्रबारदेखि सेवानिवृत्त भएका छन्। चार वर्ष संगठनको नेतृत्व गरेका उनले फिल्डदेखि नीतिगत तहसम्म संगठनको सुदृढीकरणमा महत्त्वपूर्ण योगदान गरेको सशस्त्र प्रहरी अधिकारी बताउँछन्।
०५४ सालमा सेवा प्रवेश गरेका उनी पदावधिको हदका कारण २८ वर्षपछि सेवानिवृत्त भएका हुन्। ०७९ मा आइजिपीमा नियुक्त भएका अर्यालले दुईपटक आमनिर्वाचन गराउने अवसर पाए। सीमामा सशस्त्र प्रहरीको उपस्थिति बलियो बनाउनेदेखि आन्तरिक सुदृढीकरणका लागि उनले प्रणालीगत रूपमा सुधारका काम अघि बढाएका थिए। सरुवामा एक वर्षअघि नै पूर्वानुमान सूची बनाएर उनले थिति बसाए। संस्थागत सुधारका लागि उनको कार्यकालमा १०९ वटा कार्यविधि, निर्देशिका, मापदण्ड तथा कार्ययोजना बनाएर कार्यान्वयन भएको सशस्त्र प्रहरीले जनाएको छ।
युएईविरुद्ध नेपाल ६ रनले विजयी
आइसिसी पुरुष विश्वकप लिग २ अन्तर्गत शुक्रबारको खेलमा नेपालले युएईमाथि जित दर्ता गराएको छ। वर्षाले खेल रोकिएपछि डिएलएस मेथडबाट ३८ ओभरमा झारिएको खेलमा नेपालले ६ रनले जित निकालेको हो।
कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको नेपालले सात विकेटको क्षतिमा २८९ रनको योगफल तयार गरेको थियो। नेपालका दीपेन्द्रसिंह ऐरीले शतक बनाउँदा विनोद भण्डारीले अर्धशतक पूरा गरे। ९४ बल सामना गरेका ऐरी १३ चौका र एक छक्काको मद्दतमा सय रन बनाएर रनआउट भए। भण्डारीले ७९ बलमा ५६ रन जोडे। यसैगरी गुल्सन झाले ४४ र रोहित पौडेलले ३९ रन जोड्दा अन्य खेलाडीले उल्लेख्य रन बनाउन सकेनन्। नेपालले २८ एक्स्ट्रा रन पाएको थियो।
सेजको अतिक्रमित जग्गा खाली गराउने तयारी, करिब ६ सय घरपरिवारलाई हटाइने
सरकारले बाराको जितपुर–सिमरा उपमहानगरपालिका क्षेत्रमा रहेको सिमरा विशेष आर्थिक क्षेत्र (सेज)भित्रका अतिक्रमित बस्ती पनि हटाउने तयारी थालेको छ। सेज क्षेत्रभित्र बसोबास गर्दै आएका करिब ६ सय घरपरिवारलाई हटाउन आवश्यक प्रशासनिक प्रक्रिया अघि बढाइएको सेज कार्यालयले जनाएको छ।
संरक्षण अभावमा अतिक्रमणको चपेटामा सरकारी जग्गा
उदयपुरगढी गाउँपालिका– ५ मा रहेको पञ्चावती माध्यमिक विद्यालयको नाममा झन्डै २१ बिघा १८ कट्ठा १८ धुर जग्गा छ। विद्यालयसँग आफ्नै नाममा लालपुर्जा भएकाे जमिन भए पनि विद्यालय भने ऐलानी जग्गामा सञ्चालन भइरहेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पद्मराज कार्की भन्छन्, ‘नापी हुँदा विद्यालयको नाममा अन्य स्थानका जग्गाको लालपुर्जा बनेको रहेछ। अहिले विद्यालय रहेको ठाउँ भने ऐलानी जग्गा हो, सुरुमा नै त्यस्तो अवस्था रहेछ।’
एडिबीमा उजुरी परेपछि खुल्यो वर्षौँदेखिको अपराध
अनलाइन बोलपत्र प्रणालीमा अनधिकृत पहुँच (ह्याकिङ) पुर्याएर सरकारी ठेक्का हत्याउने धन्दा निकै योजनाबद्ध र संगठित तरिकाले चलेको पाइएको छ । उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को पछिल्लो एक ठेक्काबाट अनलाइन बोलपत्र प्रणालीमा हुँदै आएको चलखेल बाहिर आएको हो ।
केयुकेएलले एसियाली विकास बैंक (एडिबी) को सहयोगमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पाइप बिछ्याउनका लागि करिब १० अर्ब रुपैयाँको ठेक्का खुलाएको थियो ।
क्रिप्टोमार्फत ह्याकरलाई विदेशमा भुक्तानी
एउटै ठेक्कामा ६० लाख रुपैयाँसम्म ह्याकरलाई दिने गरेको सिआइबी अनुसन्धानले देखाएको छ । यस्तो ह्याकर भने विदेशमा छन् । उनीहरूलाई क्रिप्टोमार्फत रकम भुक्तानी हुने गरेको थियो ।
पक्राउ परेका केही निर्माण व्यवयासीले क्रिप्टोमार्फत ह्याकरलाई भुक्तानी गरेको पुष्टि भएपछि सिआइबीले क्रिप्टोसम्बन्धी कसुरमा पनि अनुसन्धान थालेको छ । विदेशमा पैसा पठाउन हुन्डीभन्दा क्रिप्टो सुरक्षित भएपछि उनीहरूले यस्तो शैली अपनाउने गरेका थिए । केही निर्माण व्यवसायीले क्रिप्टोको कारोबारसमेत गर्दै आएको अनुसन्धानमा खुलेको छ ।
ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट
पर्यटकीय क्षेत्र तनहुँको बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट ०८३’ शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने र स्थानीय समुदायसँग जोडिएको दिगो पर्यटन विकास गर्ने लक्ष्यसहित आयोजित चारदिने कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशकी पर्यटनमन्त्री यशोदा रिमालले गरेकी छिन्।
फेवातालमा डुबेर एक बालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा फेवातालकिनारको पोखरा महानगरपालिका– १८, खपौदी बस्ने १० वर्षीय आरेस लामा रहेका सशस्त्र प्रहरीले जनाएको छ।
खपौदीस्थित फेवातालमा शुक्रबार पौडी खेल्ने क्रममा लामा तालमा डुबेर बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका कास्कीबाट उद्धार टोली खटिएको थियो।