पर्यटकीय क्षेत्र तनहुँको बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट ०८३’ शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने र स्थानीय समुदायसँग जोडिएको दिगो पर्यटन विकास गर्ने लक्ष्यसहित आयोजित चारदिने कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशकी पर्यटनमन्त्री यशोदा रिमालले गरेकी छिन्।
औपचारिक उद्घाटनअघि बन्दीपुर बजार क्षेत्रमा गण्डकी प्रदेशका ११ जिल्लाका १९ वटा होमस्टेको सहभागितामा र्याली आयोजना गरिएको थियो। स्थानीय कला, संस्कृति र पर्यटनको पहिचान झल्काउने झाँकीसहितको र्यालीपछि औपचारिक कार्यक्रम सुरु गरिएको हो।
मन्त्री रिमालले बन्दीपुरमा आयोजित पर्यटन मार्टले स्थानीय कला, संस्कृति प्रवर्द्धन गर्नुका साथै रोजगारी र आयआर्जन बढाउने विश्वास व्यक्त गरिन्। ‘नेपालमा संघीयता कार्यान्वयनसँगै विकासको विकेन्द्रीकरण भएको छ। स्थानीय सरकारले आफ्नो गाउँ निर्माणमा महत्त्वपूर्ण योगदान दिएका छन्। गाउँ बलियो बने मात्र समग्र समृद्धिको आधार तयार हुन्छ। गाउँ बलियो बनाउने प्रमुख आधार नै पर्यटन हो। स्थानीय समुदायलाई पर्यटनसँग जोड्न आवश्यक छ,’ उनले भनिन्।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पछिल्लो समय समुदायसँग जोडिने पर्यटन प्रवृत्ति विश्वभर बढ्दो क्रममा रहेको उल्लेख गर्दै त्यसबाट लाभ लिन नेपालले तयारी बढाउनुपर्ने धारणा राखे। ‘नयाँ अनुभूति गर्ने र समुदायसँगै इन्गेज हुने ट्रेन्ड बढिरहेको छ। यसका लागि हामीले पर्यटन चेतना विस्तार गर्ने, खोज गर्ने र पर्यटन अभ्यासका कामहरूलाई तीव्रता दिएका छौँ,’ उनले भने, ‘हाम्रा परम्परागत सिप, ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता छ।’
बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले गाउँका कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मार्ट आयोजना गरिएको बताए। ‘बन्दीपुरको थुम्का पर्यटनलाई थप प्रवर्द्धन गर्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने, ‘होमस्टेसम्म पर्यटक पुर्याउन र ग्रामीण पर्यटन सर्किट जोड्न ‘गाउँ सफारी’ले पनि उल्लेखनीय भूमिका खेलेको छ।’
कार्यक्रमका क्रममा आगामी वर्ष ‘गाउँ पर्यटन मार्ट’ गोरखामा आयोजना गरिने घोषणा गर्दै बन्दीपुर गाउँपालिकाले गोरखा नगरपालिकालाई औपचारिक रूपमा फ्ल्याग हस्तान्तरण गरेको छ। फ्ल्याग ग्रहणपछि गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानामगरले आगामी संस्करण सफल बनाउने प्रतिबद्धता व्यक्त गरे।