नेपाल बार काउन्सिलले कानुन व्यवसायीहरूले आचरणसम्बन्धी नियमावलीविपरीतका गतिविधि गरेको भन्दै अनुगमन गर्ने जनाएको छ । बिहीबार एक सूचना जारी गर्दै काउन्सिलले यसको जानकारी गराएको हो ।
कानुन व्यवसायको प्रमाणपत्र लिएका तथा अद्यावधिक गराएकाहरूले समेत सामाजिक सञ्जालमार्फत निर्धारित आचारसंहिताको पटक–पटक उल्लंघन गरेकाले परिषद्ले ध्यानाकर्षण गराउने गरेको थियो । त्यसपछि पनि केही कानुन व्यवसायीले अदालत र अन्य कानुन व्यवसायीहरूप्रति लक्षित गरी अमर्यादित, अपाच्य भाषा प्रयोग गरी मानमर्दन गरेको पाइएको हो ।
काउन्सिलका अनुसार यसबाट जनमानसमा न्याय प्रणाली तथा कानुन व्यवसायीहरूप्रति अविश्वास पैदा गरेको साथै आपत्तिजनक टिप्पणी तथा तस्बिर पोस्ट गर्ने गरेको भेटिएको हो । ‘गरिएका पोस्टहरूमा कानुन व्यवसायीको गरिमाबाट तल झरी आपत्तिजनक कमेन्टहरू गर्ने कार्य कानुन व्यवसायीको आचरणसम्बन्धी नियमावली, २०७९ को विपरीत भएको भन्ने जानकारी यस नेपाल कानुन व्यवसायी परिषदमा प्राप्त हुन आएको छ,’ सचिव श्रीराम खनालद्वारा जारी सूचनामा छ ।
यस सम्बन्धमा ९ वैशाखको काउन्सिल बैठकले अनुगमन गर्ने निर्णय गरेको हो । यसका लागि परिषदमा काजमा कार्यरत सहायक न्यायाधिवक्ता नितेशबाबु त्रिताललाई जिम्मेवारी तोकिएको र कसैको गुनासो वा सुझाव भए परिषद्लाई जानकारी गराउन भनिएको छ । यसपछि कारबाही अघि बढाइने परिषद्ले सूचनामा उल्लेख गरेको छ ।
‘कुनै कानुन व्यवसायीको सामाजिक सञ्जाल एकाउन्टबाट उल्लेखित आपत्तिजनक प्रकृतिका टिप्पणी तथा तस्बिर पोस्ट एवं कमेन्टहरू भएको पाइएमा सम्बन्धित कानुन व्यवसायीले आफैँ गरेको हो वा नामको दुरुपयोग गरी भएको हो भन्ने सम्बन्धमा परिषद्ले अनुगमन गरी त्यस्ता पोस्ट वा कमेन्ट गर्ने कानुन व्यवसायीले अभिलेखमा अभिलेखबद्ध गरी कानुनी कारबाही गरिनुका साथै कुनै निकायबाट आचरणसम्बन्धी अभिलेख माग हुँदा सो व्यहोरा जनाई पठाइनेसमेत जानकारी गराइन्छ,’ सूचनामा छ ।