अबदेखि अधिवक्ताको लाइसेन्स तयारी कक्षामा संलग्न व्यक्तिहरूलाई अधिवक्ताको परीक्षाको कुनै चरणमा पनि सहभागी नगराइने भएको छ । नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल)ले गत बिहीबार एक विज्ञप्तिमार्फत यो निर्णयको जानकारी दिएको छ ।
काउन्सिलले गत ९ वैशाखमै निर्णय गरेको भए पनि बिहीबार मात्र सचिव श्रीराम खनालले यसको जानकारी दिँदै सूचना प्रकाशित गरेका हुन् । कानुन व्यवसायीहरूलाई लाइसेन्स दिनेदेखि कारबाही गर्नेसम्मको अधिकार राख्ने काउन्सिलले अधिवक्ता तहको परीक्षालाई थप मर्यादित, निष्पक्ष एवं गरिमामय बनाउन यस्तो निर्णय गरेको जनाएको छ ।
‘यस परिषद्को अधिवक्ता तहको परीक्षाका कुनै चरणमा संलग्न रहेका व्यक्तिहरू विभिन्न संस्थाबाट सञ्चालित तयारी कक्षाहरूमा संलग्न रही परीक्षाको निष्पक्षतामा प्रश्न उठेको अवस्थालाई मध्यनजर गर्दै यस परिषद्को मिति २०८३/०१/०९ गतेको परिषद् बैठकको निर्णयानुसार अधिवक्ताको तयारी कक्षा सञ्चालन गर्ने निजी संस्थाहरूमा प्रशिक्षक वा कुनै भूमिकामा संलग्न रहने व्यक्तिहरूलाई कानुन व्यवसायी परिषद्को अधिवक्ता तहको परीक्षाका कुनै पनि चरणमा सहभागी नगराइने व्यहोरा यसै सूचनाबाट जानकारी गराइन्छ,’ सूचनामा छ ।
काउन्सिलको परीक्षाको प्रश्नपत्र निर्माण, निरीक्षण, अन्तर्वार्ता मूल्यांकन, उत्तरपुस्तिका जाँचलगायतका चरणमा सहभागी व्यक्तिहरू त्यसअघि निजी संस्थाहरूद्वारा सञ्चालित परीक्षा तयारी कक्षाहरूमा सहभागी भएको भेटिएको थियो । यो सम्बन्धमा काउन्सिललाई जानकारी प्राप्त भएपछि सूचना जारी गरिएको हो ।
‘अब इन्स्टिच्युटहरूतिर पढाएको जानकारी नै पाएनौँ भने बेग्लै कुरा भो । नत्र यसरी तयारी कक्षामा पढाउने वा विज्ञका रूपमा सहभागी हुनेहरूलाई परीक्षाको कुनै पनि चरणमा संलग्न नगराउने निर्णय भएको छ,’ सचिव खनालले भने ।
