काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदनअनुसार नदीले परिवर्तन गरेको धार फर्काउनका लागि कार्यवाहक प्रमुख सुनिता डंगोलले प्राविधिक तथा प्रशासनिक परामर्श गरेकी छिन् ।
स्वीकृत डिपिआरअनुसार नदी २०२१ सालको नापी–नक्साबमोजिम हुनुपर्नेमा नदीकाे बहावले स्थान परिवर्तन गरेर पश्चिमतर्फ सरेको छ । यसले गर्दा काठमाडौंतर्फको करिब एक सय रोपनी जमिन भक्तपुरतर्फ र भक्तपुरतर्फको करिब १५ रोपनी जग्गा काठमाडौंतर्फ सरेको छ
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र मनोहरा जग्गा एकीकरण आयोजनाका प्रमुख निर्मलराज बरालसँग नदी क्षेत्रको नक्सा अध्ययन गर्दै कार्यवाहक प्रमुख डंगोलले कानुनी तथा प्रशासनिक प्रक्रिया तत्काल पूरा गरेर डिपिआरबमोजिमको बहाव क्षेत्र कायम गराउने काम महानगरपालिकाको प्राथमिकतामा रहेको बताइन् ।
उनले भनिन्, ‘नदीकिनारामा अव्यवस्थित बस्ती भएका कारण यसअघि सञ्चालन गर्न नसकिएका काम तत्काल अगाडि बढाएर आयोजनालाई चाँडो सम्पन्न गराउनुपर्नेछ । यसका लागि लागत अनुमान तयार पार्ने, जनशक्ति परिचालन योजना बनाउने र योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ ।’
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निर्देशन दिँदै भने, ‘बबाट आफूलाई भूमिहीन भनेर विवरण टिपाउनुभएका व्यक्तिहरूको उचित व्यवस्थापन, बस्ती खाली गराइएका ठाउँको निर्माणजन्य सामग्रीको व्यवस्थापन र ती स्थानहरूलाई बारबेर गरेर संरक्षण गर्ने कामलाई उच्च प्राथमिकता दिएर अगाडि बढाउनुहोला ।’
मनोहरा जग्गा एकीकरण आयोजनाका प्रमुख निर्मलराज बरालका अनुसार आयोजना क्षेत्रभित्र पर्ने नदीको करिब १.५ किलोमिटर बहाव क्षेत्रमध्ये ५७५ मिटर साबिक अवस्थामा छ । बाँकी नदी खण्डमा बहाव परिवर्तन भएको छ ।