- दशौँ प्रधानमन्त्री कपमा महिलातर्फ अपराजित रहेको न्यु डायमन्डले चार खेलबाट सर्वाधिक १२ अंक जोड्दै शीर्ष स्थान बलियो बनाएको छ । राउन्ड रोविन लिगको शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा पुग्नेछन् ।
न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले दशौँ प्रधानमन्त्री कप एनभिए महिला भलिबल लिग प्रतियोगिताको फाइनल स्थान पक्का गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा मंगलबार भएको खेलमा न्यु डायमन्डले विभागीय टोली नेपाल एपिएफलाई ३–१ को सेटमा हराउँदै अन्तिम फाइनलमा पुगेको हो । एपिएफले दोस्रो सेटमा मात्र न्यु डायमन्डलाई चुनौति दिएको थियो । यसबाहेक अन्य सेटमा न्यु डायमन्ड एपिएफमाथि हाबी भएको थियो ।
समग्रमा न्यु डायमन्ड २५–२१, २०–२५, २५–१८ र २५–२१ ले बाजी मार्दै शीर्ष दुईमा रहने पक्का गरेको हो । अर्को खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमलाई २५–१५, २५–१० र २५–५ को सहज सेटमा हराएको छ । न्यु डायमन्डले अब लिग चरणको अन्तिम खेलमा नेपाल पुलिसको सामना गर्नेछ । सो खेलमा नतिजा जस्तो आए पनि न्यु डायमन्डलाई शीर्ष दुईबाट हटाउन सकिँदैन । न्यु डायमन्ड चार खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । चार खेलमा दोस्रो हार व्यहोरेको एपिएफको ६ अंक छ ।
महिलाको स्पर्धामा पहिलो जित निकालेको त्रिभुवन आर्मीले चार खेल खेलिसक्यो । नेपाल एपिएफले पनि पुलिससँग खेल्नेछ । न्यु डायमन्डसँग पराजित भएको एपिएफको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । प्रतियोगिताको बुधबार एपिएफले पुलिसलाई हराउँदा अंकगणितीय आधारमा फाइनलमा पुग्ने सम्भावना रहनेछ । पराजित हुँदा एपिएफको शीर्ष स्थानमा रहने सम्भावना समाप्त हुनेछ ।
यसैकारण, एपिएफलाई जितबाहेक विकल्प छैन । पुलिसले एपिएफलाई हराउँदा वा एक अंक मात्र बटुल्दा फाइनल बनाउनेछ । महिलातर्फ त्रिभुवन आर्मी भने प्रतियोगिताबाट बाहिरिसकेको छ । सुदूरपश्चिम लिगमा अंकविहीन हुने एक मात्र टोली हो । एकल राउन्ड रोविन लिगपछि अंकतालिकाको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपाल भलिबल संघको आयोजनामा १९ वैशाखसम्म चल्ने प्रधानमन्त्री कपमबाट क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फका ६ र पुरुषतर्फका आठ टोलीले लिगमा प्रतिस्पर्धा गरिरहेका छन् ।
हेल्प नेपालको लगातार चौथो जित
पुरुषतर्फको स्पर्धामा उपाधि दाबेदार हेल्प नेपाल स्पोर्टस् क्लबले लगातार चौथो जित हात पारेको छ । हेल्प नेपालले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–१ सेटमा हरायो । हेल्प नेपाल समग्रमा २५–१५, २३–२५, २५–१३ र २५–१४ ले विजयी भयो । लगातार चार जित निकालेको हेल्प नेपालले १२ अंक जोडेको छ । एपिएफको यो लगातार चौथो हार हो । विदेशी खेलाडीले भरिएको हेल्प नेपालविरुद्ध एपिएफले दोस्रो सेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
पहिलो सेट १५–२५ ले गुमाएको एपिएफले दोस्रो सेट २५–२३ मा जित्दै पुनरागमन गरेको थियो । तर, उत्कृष्ट प्रदर्शन गरिरहेको हेल्प नेपालका खेलाडीले त्यसपछिका दुई सेटमा एपिएफमाथि दबाब बनाइरहेका थिए ।
हेल्प नेपालले तेस्रो सेट सहजै २५–१३ र चौथो सेट २५–१४ ले बाजी मार्यो । अर्को खेलमा खिल्जी युवा क्लबले कोशी प्रदेशलाई हराएको छ । खिल्जी युवाले पुरुषतर्फ पहिलो जित निकाली तीन अंक जोडेको छ ।