- मानिसहरू हो, संसारका सबै खोलानालाको रोदन र चीत्कार सुन, नदीहरूको क्रूर चीरहरण नगर, यिनलाई नमार
सुक्दै गएका खोलानाला : केही समयअघि विश्वभर अन्तर्राष्ट्रिय नदी कार्यसम्पादन दिवस मनाइयो । यतिखेरै ब्राजिलका आदिवासीले वर्षौंदेखि गरिरहेको तापाजोस नदी बचाऊ जनसंर्घष सफल भएको छ । अमेजन बेसिनको तापाजोस रिभर इकोसिस्टम बिग्रने गरी ‘कारागिल हाइड्रोभिया प्रोजेक्ट’ निर्माणबाट सरकार पछि हटेको छ । यसलाई नदीको जित भन्दै अमेजनका पहरेदारले खुसी साटासाट गरिरहेका छन् । नदी अधिकारका यसखाले संर्घष सबैका लागि प्रेरणा बन्नुपर्छ । किनकि, सबै नदी स्वतन्त्र बग्न चाहन्छन् र यो नदीहरूको सार्वभौम अधिकार पनि हो ।
युरोपेली युनियन क्लाइमेट कोपर्निकस रिपोर्ट– २०२५ ले लगातार तीन वर्षयता पृथ्वीले उच्च तातोपन व्यहोरिरहेको तथ्य प्रकाशन गरेको छ । यस्तो तापमान वृद्धि १.५ डिग्रीआसपास पुगेकाले अब संसारभर पानीको महाअभाव (जलसंकट) सिर्जित हुनेछ । पृथ्वी जति धेरै तात्छ, उति पानीको संकट बढ्छ र मानिसका लागि जलस्रोत बजेट पनि कम हुन्छ । चरम खडेरीले पृथ्वीको माटो र भुइँसतहमा पानीको सञ्चितिस्तर घटाउँछ । के सिँचाइ र पिउने पानीबेगर पृथ्वीमा जैविक अस्तित्व रहला ? कृषि उत्पादन होला ? रुखबिरुवा रहलान् ? वन्यजीव र मानिस जातिको अस्तित्व जोगिएला ? गहिरिँदो जलवायु संकट, हरितगृह ग्यास (कार्बन) उत्सर्जनमा तीव्रता र तालतलैया–सिमसार–नदीहरूको विलोपनले अब सर्वत्र पानीको हाहाकार हुन्छ भन्दै राष्ट्रसंघीय प्राज्ञिक निकाय युएनयु क्यानडाले ‘ग्लोबल वाटर बैंक्रप्सी रिपोर्ट २०२६ प्रकाशित गरेको छ ।
प्रतिवेदनले मानिसले आआफ्नो देशमा प्रयोग गर्ने पानी अति उपभोग (अति दोहन) गरिरहेका छन्, तर सोबराबर पानी पुनर्संचिति र पर्याप्त भूमिगत जलभण्डारण भने गर्न सकिरहेका छैनन् भनेको छ । जलाधार क्षेत्र, बेसिन प्रणाली र हाइड्रोलोजिकल चक्रमा परेको तापमान प्रभाव र खराब मानवीय क्रियाकलापले नदीहरू द्रुततर रूपले हराउने अनि कुवा (मूल/जरुवा–एक्वेफर), सिमसार र तालतलैया मासिने क्रममा बढोत्तरी भएको भन्ने छ । यसरी नदीहरू मासिँदै जाने क्रममा स्थायी रूपमै नरहने पो हुन् कि भन्ने चिन्ता देखाएको छ । यो खाले पानी संकटलाई वित्तीय दिवालीयापनसँग दाँजेको छ । अर्थात्, समाजले जति परिमाण पानी खपत गर्छ, सोभन्दा कम परिमाण सञ्चिति गर्दै{ छ भन्ने हो । हाइड्रोलोजिकल साइकल खलबलबाट वर्षाको पानी भूमिगत बचत हुन नसक्नु नै यो समस्याको कडी हो । यो प्रतिवेदनले सबै देश, सबै समाज र सबै मानिसको वाटर बजेट ब्यालेन्स ऋणात्मक हुँदै गएको देखाएको छ । यसले पृथ्वीमा चार अर्ब मानिसका लागि तत्कालै खानेपानी र सिँचाइ संकट गहिरो बन्ने र यसैका कारण कृषि तथा खाद्यान्न उत्पादन घट्ने अनि देशबिच पानी युद्ध (वाटर वार), झैझगडा र वैमनस्य उत्पन्न हुने भनिएको छ ।
जलसंकट गहिरिँदै जाने कारण : (क) संसारमा ४१० मिलियन हेक्टर सिमसार विगत पचास वर्षमा आधा मात्रै बचेको छ, (ख) सबभन्दा बढी एसियामा मात्रै २४ सय करोड टन भूमिगत जलभण्डार प्रतिवर्ष घट्दै छ भने संसारमा औषत भूमिगत पानी पुनर्भण्डारण तह हरेक वर्ष २५ सेमीले घट्दै गएको छ, (ग) पचास वर्षयता ३० प्रतिशत हिमसञ्चिति घटेको छ, (घ) सबै नदीको जलप्रवाहित क्षेत्र औषतमा ६० प्रतिशतले कम भएको छ, (ङ) एआई र डाटा सेन्टर चिस्यान घरले पनि खर्बौंखर्ब ग्यालेन पानी प्रयोग गर्छन्, जसले भूमिगत पानी घटेको छ ।
नदीको चीत्कार सुनौँ : ‘स्टेट अफ वर्ल्डस् रिभर (२०२५)’ प्रतिवेदन इन्टेल रिभर अर्गनाइजेसन भन्ने अमेरिकी संस्थाले भर्खरै निकालेको छ । जसले संसारका ५० ठुला नदी बेसिन (अमेजन, कंगो, गंगा, यल्लो रिभर आदि) को सन् १९९८–२०२२ सम्मको तथ्यांक अध्ययन गरी यी नदीको पानीको गुणस्तर, उपलब्ध मात्रा, इकोलोजिकल स्वास्थ्यसमेत परीक्षण गरेको छ । अध्ययनले यस्ता नदी सुक्दै र मर्दै गइरहेको निचोड निकालेको छ । अर्थात् ऊ भन्छ– ‘रिभर आर डाइङ’ । जसले मानवता र नदी सभ्यता महासंकटतिर सोझिएको देखाउँछ । नदीको मरणले इतिहास, संस्कृति, भाषा पनि हराउने चिन्ता थपिएको छ ।
प्रतिवेदनले संसारका १२ वटा नदी प्रणालीलाई उच्च फोहोरी भनेको छ, जसमा एसियाका गंगा, ब्रह्मपुत्र, गोदावरी, सिन्धु र यल्लो रिभर छन् भने अन्यमा भोल्गा, मिसिसिपी र टिग्रिस छन् । यी नदी अधिक प्लास्टिक ट्रेस, माइक्रोप्लास्टिक, रासायनिक प्रदूषण, हेभी मेटल, पोइजनस टक्सिन, सहरी ढल, फोहोर मिसिएका कारकबाट फोहोर भएको भनिएको छ ।
यस्ता नदी प्रणालीबाट ढुंगागिट्टी, माटो, बालुवाजस्ता निर्माण सामग्री बढी उत्खनन गरिएको र नदी खेल्ने मैदान (फ्लड प्लेन) मा बस्ती विकास, उद्योग स्थापना र सहरीकरण गरिँदा यस्ता नदीको चीरहरण भएको छ, जसका कारण यी नदी मृत्योन्मुख भएको भन्दै गहिरो चिन्ता व्यक्त गरिएको छ । यसरी नदीहरूको अकाल मृत्यले के मानव सभ्यता जीवित रहला ? असम्भव छ । यसर्थ, मानिसहरू हो ! संसारका सबै खोलानालाको रोदन र चीत्कार सुन । नदीहरूको क्रूर चीरहरण नगर, यिनलाई नमार ।
ठुला जलाशय : विषाक्त हेभी मेटल थुप्रिँदै : नदीहरूमाथि भइरहेको चीरहरणको अर्को उदाहरण हो, जलाशययुक्त (रिजर्भ्वायर) विद्युत् परियोजना निर्माण । कर्पोरेटहरूबाट अधिक नाफाका लागि एउटै नदीमा धेरै स्थानमा जलाशययुक्त आयोजना बनाइन्छन् भने यी बाँध बनाउँदा ठुला क्रंकिट र सिमेन्टका संरचना (हाई ड्याम स्ट्रक्चर) बनाइन्छन् । जसले नदीको स्वच्छन्द प्रवाहमा अवरोध गरी पारिस्थितिकीय प्रणाली ध्वस्त पारेको छ । त्यस्ता नदीको पानी विषाक्त (टक्सिक वाटर) बनिरहेको छ । विद्युत् उत्पादन गर्न, कृषि, सिँचाइ–माछा पालना गर्न र खानेपानी आपूर्तिका लागि निर्मित केही बहुउद्देश्यीय जलाशय परियोजनामा हेभी मेटल (गह्रौँ धातु)को सञ्चिति फेला परेको तथ्य भर्खरै सम्पन्न एक चिनियाँ अध्ययनले देखाएको छ । यी धातु नदी प्रणाली नै विषाक्त बनाउन जिम्मेवार छन् । यस्तो खोज रहेको ‘हेभी मेटल इन रिजर्भ्वायर रिपोर्ट–२०२५’ को प्रकाशन नर्थइस्ट एग्रिकल्चर युनिभर्सिटीका प्राध्यापक सन् कोइको अध्ययन टोलीबाट भएको देखिन्छ ।
रिपोर्टअनुसार संसारभर ५० हजारभन्दा बढी उच्च जलाशययुक्त र ठुला बाँध बाँधिएका छन्, जसमध्ये पाँच हजार बाँध त निकै संवेदनशील देखिएका, स्थान सर्केका र तत्कालै भत्कने जोखिममा रहेका छन् भने यिनै जलाशयमा हेभी मेटल थुप्रिँदा पानी विषाक्त बनेको छ । यस्ता हेभी मेटलमा इथाइल, मर्करी (पारो), आर्सेनिक, मेग्निज, जिंक, क्याडमियम, सिसा आदि प्रमुख छन् । यी पिएम २.५ पनि हुन्, जो हावा र पानी प्रदूषक मानिन्छन् । डब्लुएचओबाट जारी जनस्वास्थ्य स्टान्डर्डका दृष्टिले यी धातु निकै विषाक्त र खतराजन्य मानिन्छन्, जो पानीचक्र र खाद्यशृंखला (माछा र सी फुड खपत) बाटै पूरै शरीर, कोषिका, ब्रेन र रगतमा प्रवेश गर्छन् । फलतः मानिसमा क्यान्सर, ब्रेन ड्यामेज, न्युरोलोजिकल समस्या, ग्यास्ट्रो–कार्डियोभास्कुलर समस्या र किड्नी फेलरजस्ता जटिल समस्या उत्पन्न गर्छन् ।
नेपालको जलस्रोत विकास र वातावरणीय अध्ययन : जलस्रोतको उपयोग र नदीजन्य पदार्थको दिगो व्यवस्थापनका लागि संसारभर नै वातावरणीय प्रभाव अध्ययन (इआइए) गरिन्छ । नेपालमा पनि नदी प्रणालीमा आधारित ठुला जलविद्युत् परियोजना (आरओआर वा रिजर्भ्वायर) का लागि वातावरण संरक्षण ऐन–२०७६ बमोजिम आइई/इआइए अध्ययन हुँदै आएको छ । तर, विडम्बना यी इआइए अध्ययन कम गुणस्तरीय देखिएका छन् । जसले नदी प्रणालीमा पर्ने समग्र प्रतिकूल असर त्यहाँ रहने जलचर, माछा, फाइटोप्लेंकटन, ब्लुग्रिन लेउ र पानीको विषाक्तताबारे खासै अध्ययन गरेको पाइन्न । यसमा जलाशययुक्त परियोजनाले उत्सर्जन गर्ने हरितगृह ग्यास कार्बन र मिथेनको अध्ययन पनि भेटिँदैन ।
हाम्रा जलविद्युत् आयोजनाको कार्बन फुटप्रिन्टबारे अध्ययन गरिँदैन । अनि, यी परियोजना ‘ग्लोबल रिन्युवेवल इनर्जी’ मापदण्डबमोजिम साँच्चै कम कार्बन उत्सर्जक (ग्रिन प्रोजेक्ट) हुन् त भन्ने विश्लेषण भएको देखिन्न । युरोपेली युनियनलगायत नर्वेजियन र स्विडेन सरकारले अवलम्बन गरेको स्वच्छ जलविद्युत् ऊर्जा मापदण्डमा १०० ग्राम कार्बन प्रतिकिलोवाटसम्मको ‘इमिसन’लाई स्विकारिएको देखिन्छ र भारतमा यो ३०० ग्रामसम्म स्विकारेको देखिन्छ । तर, नेपालमा भने सरकारलाई यसको मतलबै छैन । हरित लगानी र हरित आयोजनाजन्य वातावरणीय मापदण्ड पनि बनेको छैन । हामीले पनि ग्रिन प्रोजेक्ट इन्भेस्टमेन्ट (फिनान्सिङ) कार्यविधि तत्काल ल्याउनेतिर जानुपर्छ । किनकि, सबै जलविद्युत् परियोजना ग्रिन इनर्जी प्रोजेक्ट बन्न सक्दैनन् । यसरी नै जलाशयजन्य परियोजनाले थुपार्ने हेभी मेटल, जस्तै– मर्करी, आर्सेनिक र लिडबारे पनि यी यस्ता प्रतिवेदनले केही उल्लेख गर्दैनन् । भर्खरैको जलाशय विद्युत् खरिद निर्देशिका–२०८२ पनि मौन देखिन्छ ।
एकातिर नेपालमा नदी प्रवाहको ‘इफ्लो’ मापदण्ड ५० प्रतिशतबाट १० प्रतिशतमा घटाई नीतिगत अपचलनबाटै नदी पर्यावरण कमजोर पारिँदै छ, साथसाथै यिनै नदीबाट भइरहेको ढुंगागिट्टी–बालुवाको अतिदोहन झनै भयावह बन्दै छ । यसैले, नदीहरू दोहोरो पीडामा छन् र घाइते छन् । जसलाई वातावरणीय अनुपालनबाटै सुधार गर्न सक्नुपर्छ ।
नदी पुनर्स्थापना कार्यनीतिको खाँचो : नेपालमा साना–ठुला गरी ६ हजार नदी र चार सयजति तालतलैया र सिमसार छन् । यी सबै नदीमा अतिदोहनको समस्या देखिन्छ । जलविद्युत् आयोजनाले गर्ने पानी उपभोगका अतिरिक्त ढुंगागिट्टीको डोजरे उत्खननले पनि हाम्रा नदी प्रणाली मरिरहेका छन् । यसर्थ, यी नदीलाई जीवन्त राख्ने हो भने सरकारले तत्कालै राष्ट्रिय नदी पुनर्स्थापना कार्यनीति ल्याउन जरुरी छ । यस नीतिले नदीहरूलाई (क), (ख) र (ग) वर्गमा राख्न सक्छ भने अति संरक्षित, मध्यम र न्यून संरक्षित भनी नदी प्रयोजनका थ्रेसहोल्ड र ‘नेचुरल रिभर फ्लो जोनेसन प्लान’ बनाउन सक्छ । बढी भएका बाँध भत्काउने, कमभन्दा कम बाँध निर्माण र थोरै जलाशय बनाउने अनि (क) वर्गका नदीहरू कोशी, गण्डकी र कर्णालीसहित यिनका मूल प्रशाखालाई अति संरक्षित नदी प्रणाली घोषणा गर्न सकिन्छ । यो काम अहिलेको वातावरण कानुनमा रही नदी प्रणालीमा आधारित वातावरण संरक्षण क्षेत्रका रूपमा राख्न सकिन्छ । अर्को विकल्पमा विद्यमान भू तथा जलाधार संरक्षण ऐन–२०३९ को अभ्यासबाट फेवाताललाई संरक्षित जलाधार क्षेत्र घोषणा गरेजस्तै सीमित उपयोग र उपभोक्ता जनसहभागितामूलक प्रणालीले पनि यी नदी जोगाउन सकिन्छ । साँच्चै यी (क) वर्गका नदी त हाम्रा जैविक, ऐतिहासिक र सांस्कृतिक धरोहर पनि हुन् । यी नदीमै गैँडा, डल्फिन, गोहीजस्ता इकोलोजिकल मूल्यवान् जलधारकहरू आश्रित छन् । नदी वर्ग (ख) र (ग) का पनि थप मापदण्ड बनाउन सकिन्छ । यो प्रसंगमा सम्मानित सर्वोच्च अदालतका फैसला नजिर बन्छन् । जस्तै– कालिगण्डकी नदी दोहनलाई पर्याअपराध (इकोसाइड) भनिएको छ । तिनाउ, कमला, राप्ती, रतुवाजस्ता सहरछेउका नदी प्रणाली ठेकेदारी प्रथामा ध्वंस पारिएकाले यो प्रतिबन्धका लागि कडा कानुन चाहिन्छ ।
जे होस्, सम्भावित जलवायु परिवर्तनबाट बच्न, बढेको तापमान र अधिक पानी उपभोगले घटिरहेको भूमिगत जलभण्डारलाई पुनर्स्थापना गर्न हाम्रा नदी प्रणालीलाई जीवन्त राख्नैपर्छ । यसैले, यी नदीमाथि भइरहेको व्यापारिक अतिदोहन, राज्य–नाफाखोर कार्टेल र नदीमाथिको कुकृत्य रोक्दै नदी संरक्षणका ठोस कार्ययोजना चाँडो कार्यान्वयनमा लैजानुपर्छ । चुरे क्षेत्रको ढुंगागिट्टी तथा नदीदोहन पर्या–संकटकाल (इको–इमर्जेन्सी) लगाएर भए पनि तत्कालै रोक्नुपर्छ । ब्राजिलको तापाजोस नदी बचाएझैँ नेपालमा पनि हजारौँ नदी बचाउनुपर्छ । खासमा नदी माफियाबाटै नदी जोगाउन सक्नुपर्छ । नदीहरू बाँचे मात्रै हाम्रो पर्या–सभ्यता बाँच्छ र नेपाल पनि जीवन्त रहन्छ ।