प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा योजना छनोटका लागि स्पष्ट प्राथमिकता निर्धारण गर्दै प्रदेश गौरव र बहुवर्षीय आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने जनाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री चेतनारायण आचार्यले अधुरा आयोजना सम्पन्न गर्नु दोस्रो प्राथमिकता रहने र त्यसपछि मात्रै नयाँ आयोजना समावेश गरिने बताएका छन् ।

उनले प्रदेशको वास्तविक आर्थिक अवस्थाभन्दा एक रुपैयाँ पनि बढी बजेट नबनाउने प्रतिबद्धता दोहोर्याउँदै यथार्थपरक बजेट निर्माणमा जोड दिए । हाल करिब ६ अर्बहाराहारीमा रहेको राजस्वलाई आगामी आर्थिक वर्षमा साढे ६ अर्बसम्म पुर्याउने प्रक्षेपण गरिएको जानकारी दिए । ‘आगामी वर्षको बजेट यथार्थ अवस्थामा टेकेर निर्माण गर्नेछौँ ।

आवश्यकता र औचित्यको आधारमा बजेट हुनेछ,’ उनले भने, ‘पहिलो प्राथमिकता प्रदेश गौरव र बहुवर्षीय आयोजनालाई राख्नेछौँ । दोस्रो प्राथमिकता अधुरा आयोजना सम्पन्न गर्ने हुनेछ । त्ययपछि मात्रै नयाँ आयोजना समावेश हुनेछन् ।’

मुख्यमन्त्री आचार्यले विगतका कमजोरीबाट शिक्षा लिएर सुधार गर्दै अघि बढ्ने उल्लेख गर्दै बजेट आवश्यकता र औचित्यका आधारमा निर्माण गरिने बताए। जिल्ला समन्वय समितिलाई अनुगमनसँग जोड्न ऐन संशोधन गरिएको र स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई समेत अनुगमनमा सहभागी गराउने तयारी भइरहेको उनले जानकारी दिए ।

लुम्बिनी प्रदेशले विगतको तुलनामा राजस्व संकलनमा सुधार गर्दै गएको उल्लेख गर्दै उनले बागमती प्रदेशपछि राजस्व संकलनमा लुम्बिनी अग्रस्थानमा रहेको बताए । आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
 

सुझावित समाचार