मंगलबार १० बजेसम्मका प्रमुख १० खबर

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण

मंगलबारको मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्यो ?

मंगलबारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका पाँच निर्णयहरू सार्वजनिक भएका छन्।

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा नियुक्ति दिनुका साथै विभिन्न तीन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ।

भुर्तेलको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित

नेपालले युएईसँगको दोस्रो टी–२० क्रिकेट प्रतियोगितामा आठ विकेटको सानदार जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार पहिलो ब्याटिङ गरेको युएईले २० ओभरमा आठ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

नेपालले केवल १५.५ ओभरमा दुई विकेट गुमाएर आठ विकेटको जित निकाल्यो । त्रिवि मैदानमा जित निकालेसँगै दुई खेलको टी–२० आई सिरिज १–१ को बराबरीमा सकिएको छ। यसअघि वर्षाले प्रभावित बनाएको सोमबारको पहिलो खेलमा युएईले नेपाललाई ६ विकेटले हराएको थियो। 

दोस्रो खेलमा ब्याटिङ र बलिङमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय योगदान दिए । उनले ५७ बलमा १२ चौका र दुई छक्काको सहयोगमा ८४ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले १७ बलमा तीन चौकाको सहयोगमा नटआउट २३ रन बटुले। त्यसअघि अर्का बायाँ हाते ओपनर कुशल मल्ल १७ बलमा १९ रन जोडेका थिए। डेब्यु खेलाडी सन्तोष यादव १ रनमा आउट भए। भुर्तेलले मल्लसँग पहिलो विकेटका लागि ७।३ ओभरमा ६७ रनको साझेदारी गरेका थिए । भुर्तेलले कप्तान ऐरीसँग तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्दै नेपाललाई सानदार जित दिलाए। 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्ष र सदस्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्ष र सदस्य नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्षमा डिल्लीराज आचार्य (प्युठान) तथा सदस्यहरूमा नवराज सिंखडा (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर)लाई नियुक्ति गरेको हो।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो। समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेका छन्।

अनियमितताको आरोपपछि सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्डकाे अध्यक्ष पद रिक्त छ। 

तयार भयो प्रतिनिधिसभा नियमावलीको मस्यौदा (पूर्णपाठसहित)

प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार भएको छ। नियमावली संशोधन गर्न गठित समितिले मंगलबार सभामुख डिपी अर्याललाई नियमावलीको मस्यौदा बुझाएको हो।

नियमावलीमा देखिएका कमजोरी सुधार्न र समसामयिक बनाउन संसदमा रहेका ६ वटै दलको प्रतिनिधित्व हुने गरी १५ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो।

गाडी चढ्नासाथ २५ रुपैयाँ

काठमाडौं उपत्यकामा सवारी चढ्नासाथ सुरु भाडादर २५ रुपैयाँ पुगेको छ । बस चढेर छोटो दूरीमै ओर्लिए पनि यात्रुले २५ रुपैयाँ दिनुपर्छ । यसअघि २० रुपैयाँ तिर्नुपर्थ्यो ।

पेट्रोलियम पदार्थको भाउ बढेकाले सरकारकै सहमतिमा सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरिएको हो । उपत्यकामा २८ चैतदेखि लागू नयाँ भाडादर २५.९६ प्रतिशतका दरले बढाइएको छ ।

समायोजन भएर प्रदेश र स्थानीय तह पठाइएका कर्मचारीका गुनासैगुनासा

निजामती कानुन अघि बढाउनै लाग्दा अहिले कर्मचारीमा चासो र चिन्ता बढेको छ । यसैमाझ समायोजन भएर प्रदेश र स्थानीय तहमा पठाइएका कर्मचारी पनि आफ्नै गुनासा छन् ।

समायोजन भएका कर्मचारीको सेवा, सर्त, सुविधा, वृत्तिविकास, अन्तरतह, बढुवा, सरुवा तथा सेवा सुरक्षाका सम्बन्धमा कानुनी शून्यता र अन्योल छ । 

चालू आवको नौ महिनामा दुई खर्ब २२ अर्बको निर्यात, व्यापार घाटा १२ खर्ब ७९ अर्ब

चालू आवको नौ महिनामा दुई खर्ब २२ अर्बको वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिमा एक खर्ब ८८ अर्बको मात्रै निर्यात भएको थियो । अर्थात्, निर्यात १८.४६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा १२ खर्ब ७९ अर्बको व्यापार घाटा भएको देखिन्छ । 

यस अवधिमा ९० अर्ब ७१ करोडको प्रशोधित सोयाबिन तेल निर्यात भएको छ । १० अर्ब ७० करोडको ठुलो अलैँची निर्यात गरिएको छ । सात अर्ब ४४ करोडको ऊन वा जनावरको रौँबाट बनेका कार्पेट र ६ अर्ब ९४ करोडको सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । 

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

नेपाली कांग्रेसद्वारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ ।

पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठिट १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगनकुमार थापा, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्रीद्वय उदयशमशेर राणा र योगेन्द्र चौधरीसमेत सहभागी भएका थिए।

पुरातत्त्वका इन्जिनियर पूर्णबहादुर श्रेष्ठसहित दुईविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

पुरातत्त्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर (सिडिई) पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।

निर्माण व्यवसायीहरूबाट घुस लिई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

सुझावित समाचार