काठमाडौं उपत्यकामा सवारी चढ्नासाथ सुरु भाडादर २५ रुपैयाँ पुगेको छ । बस चढेर छोटो दूरीमै ओर्लिए पनि यात्रुले २५ रुपैयाँ दिनुपर्छ । यसअघि २० रुपैयाँ तिर्नुपर्थ्यो ।
पेट्रोलियम पदार्थको भाउ बढेकाले सरकारकै सहमतिमा सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरिएको हो । उपत्यकामा २८ चैतदेखि लागू नयाँ भाडादर २५.९६ प्रतिशतका दरले बढाइएको छ ।
लामो दूरीको भाडादर पनि वृद्धि गरिएको छ । सार्वजनिक सवारीसाधनको यात्रु भाडादर १६.७१ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ढवानी भाडादर १५.७५ प्रतिशत र पहाडी बाटोमा सञ्चालन हुने मालवाहक ट्रकको ढुवानी भाडादर २१.६८ प्रतिशतले बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
त्यस्तै, हवाई इन्धनको मूल्यमा भएको वृद्धिका कारण हवाई भाडासमेत बढेको छ । सबैभन्दा लामो रुट काठमाडौं–धनगढीको हवाई भाडा महँगिएर एकतर्फी मात्रै अधिकतम २२ हजार ७५५ रुपैयाँसम्म पुगेको छ । यो रुटको न्यूनतम भाडा ११ हजार आठ सय रुपैयाँ छ । यसअघि उक्त भाडादर सात हजार पाँच सयदेखि १२ हजार रुपैयाँ आसपाससम्म थियो ।