पुरातत्त्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर (सिडिई) पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।
निर्माण व्यवसायीहरूबाट घुस लिई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
विभागले गरेको ६४ करोड २१ लाख ८९ हजार ६०३ रुपैयाँबराबरको ठेक्कामा सहजीकरण गरिदिएबापत श्रेष्ठ र अधिकारीले घुस लिएको भेटिएको आरोपपत्रमा उल्लेख छ।
घुसबापतको चार करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ पटकपटक गरी अधिकारीको नाममा रहेको बैंक खातामा विभिन्न मितिमा दाखिला गरेको भेटिएको अख्तियारले जनाएको छ। सो रकमबाट जग्गा र सुन खरिद तथा विभिन्न व्यक्तिलाई भुक्तानी गरेको भेटिएको छ।
उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दासमेत दायर भएको छ। भ्रष्टाचारबाट आर्जित सो सम्पत्तिको स्रोत लुकाउन उनीहरूले घरजग्गा खरिद, कर्जा लगानी, सुन खरिद, विभिन्न व्यक्तिहरूलाई भुक्तानी गरी व्यवस्थापन गरेको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले दुवै मुद्दामा उनीहरुबाट जनही चार करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ बिगो मागदाबी गरेको छ।