बुद्धिचाल महासंघले आधा दर्जन प्रतियोगिता गर्ने

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल बुद्धिचाल महासंघले नयाँ सिजनमा आधा दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्ने भएको छ । महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय बैठकले नयाँ सिजनमा आधा दर्जन बुद्धिचाल प्रतियोगिता गर्ने निर्णय गरेको जनाएको छ । १६ देखि १८ वैशाखसम्म राष्ट्रिय र्यापिड तथा ब्लिट्ज चेस च्याम्पियनसिपको आयोजना गर्ने महर्जनले बताए । 

यो याम्पियनसिपको जिम्मेवारी स्थानीय व्यवस्थापनका रूपमा क्षेत्रपाटी क्लबले पाएको छ । यसैगरी, महासंघले ४ देखि ८ जेठसम्म झापाको बिर्तामोडमा २७औँ खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजना गर्नेछ । राष्ट्रिय बुद्धिचाल चलिरहँदा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको लागि नेसनल ‘बी’ छनोट प्रतियोगिता सञ्चालन हुने महर्जनले बताए ।

राष्ट्रिय ‘बी’ छनोट प्रतियोगिता आयोजना गर्न स्थानीय व्यवस्थापनको जिम्मेवारी काँकडभिट्टास्थित नाइट चेस क्लबलाई प्रदान गरिएको छ । सो छनोट प्रतियोगिताबाट पुरुष तथा महिला दुवैतर्फ गरी समान नौजना खेलाडी राष्ट्रिय ‘ए’का लागि छनोट हुनेछन् । राष्ट्रिय ‘ए’ पुरुष तथा महिलाको राष्ट्रिय प्रतियोगिता २९ जेठ देखि ४असारसम्म कास्कीमा सञ्चालन हुनेछ ।

राष्ट्रिय प्रतियोगिताबाट समान चारजना खेलाडीहरू उज्वेकिस्तानमा हुने ४७औँ चेस ओलम्पियाडमा छनोट हुनेछन् । वार्षिक रूपमा नियमित आयोजना हुँदै आएका सात विधागत राष्ट्रिय प्रतियोगिताहरूमध्ये १० देखि १२ जेठसम्म ललितपुरमा नेसनल जुनियर चेस च्याम्पियनसिपको समेत आयोजना गर्ने महासंघले जनाएको छ ।

जनकपुरमा महासंघको साधारणसभा
नेपाल बुद्धिचाल महासंघले आफ्नो विधानअन्तर्गत नियमित साधारणसभा मधेश प्रदेशको धनुषास्थित जनकपुरधाममा गर्ने निर्णय गरेको छ । साधारणसभाका लागि महासंघले सार्वजनिक सूचना सँगसँगै पत्राचारमार्फत निर्धारित समयसीमाभित्र अधिवेशन सम्पन्न गरेका २० जिल्ला छन् ।

५५ जिल्ला संघमध्ये अधिवेशन हुन नसकेका जिल्लाको हकमा चेस खेलको गतिविधि भए–नभएको सक्रियता अनुगमन गरी मूल्यांकनका आधारमा जिल्ला बुद्धिचाल संघ तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।

अनुगमन उपसमितिमा अध्यक्ष महर्जन संयोजक वरिष्ठ उपाध्यक्ष दीपेन राई, उपाध्यक्ष माधवप्रसाद प्रधान, महासचिव धरमबहादुर लामा र खेलाडी रुपेश जयसवाल सदस्य रहनेछन् । 

सुझावित समाचार