महाधिवेशन र स्थानीय तह निर्वाचन तयारीमा रास्वपा

संगठनलाई पूर्णतादेखि जिम्मेवारी बाँडफाँटसम्मका निर्णय

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण

भदौ–असोजभित्र महाधिवेशन गर्ने तयारीमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टीले संगठनलाई पूर्णतादेखि जिम्मेवारी बाँडफाँटसम्मका निर्णय लिएको छ । आइतबार केन्द्रीय सचिवालय बैठक राखेर जिल्ला अधिवेशन १५ वैशाखदेखि थाल्ने निर्णय गरेको रास्वपाले सोमबार केन्द्रीय समिति बैठकमार्फत संगठनात्मक निर्णय लिएको हो । 

प्रवक्ता मनीष झाका अनुसार केन्द्रीय समिति बैठकले पार्टीका विभिन्न संरचनालाई पूर्णता दिएको छ । पार्टीको महामन्त्री पदमा सहमहामन्त्री भूपदेव शाहलाई नियुक्त गरेको छ । महामन्त्री सुनील लम्साल भौतिक पूर्वाधारमन्त्री बनेपछि उनको ठाउँमा शाहलाई नियुक्त गरिएको हो । शाह प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरको मेयर हुँदा स्वकीय सचिव थिए । 

यसैगरी, रास्वपाले केन्द्रीय सचिवालयमा दुईजना सागर ढकाल र सरिताश्री ज्ञवालीलाई मनोनीत गरेको छ । सभापति रवि लामिछानेले सचिवालय सदस्यमा प्रस्ताव गरेका उनीहरूलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ । यससँगै सचिवालय १६ सदस्यीय पुगेको छ । 

सचिवालयमा सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कवीन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष बसुमाया तामाङ, प्रवक्ता मनीष झा, मन्त्रीहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम, सांसदहरू गणेश पराजुली, दीपक बोहरा, हरि ढकाल, सागर ढकाल र सरिताश्री ज्ञवाली सदस्य छन् । 

महाधिवेशन केन्द्रित केन्द्रीय समितिको बैठकले संघीय नेतृत्व मञ्चमा तुलसीप्रसाद चौधरी (सप्तरी), रामसिंह थारू (बर्दिया), जीवन धामी (मोरङ), प्रेमा चौधरी (कैलाली), नवराज राना (कञ्चनपुर) र एकराज चौधरी (दाङ)लाई मनोनीत गरेको छ । 

प्रवक्ता झाका अनुसार केन्द्रीय समितिले केन्द्रीय सल्लाहकार परिषद्मा जीवनप्रभा लामा (काभ्रे), मोतीप्रसाद पंगाली (नवलपरासी पूर्व), हरिप्रसाद पाण्डे (भक्तपुर) र विष्णुहरि शर्मा (कपिलवस्तु)लाई मनोनीत गरेको छ । 

यस्तै, बैठकले विधान संशोधन समितिको संयोजक सहमहामन्त्री विपिन आचार्यलाई बनाएको छ । यसअघि केन्द्रीय सचिवालयले महाधिवेशनको कार्यविधि मस्यौदा गर्न महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा समिति गठन गरिसकेको छ । 

प्रवक्ता झाले आगामी महाधिवेशन केन्द्रित केही समिति बनाउन केन्द्रीय समितिले नवनियुक्त महामन्त्री शाहलाई जिम्मेवारी दिएको बताए । रास्वपाले निर्वाचनपछि ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोअनुसार आगामी भदौ वा असोजभित्र केन्द्रीय महाधिवेशन गर्ने गृहकार्यमा रास्वपा जुटेको प्रवक्ता झाले बताए ।

स्थानीय तहको निर्वाचनको उम्मेदवार आह्वान गर्दै 
साथै, रास्वपाले स्थानीय कार्यतालिकाअनुसार एक वर्षपछि हुने स्थानीय तह निर्वाचन तयारीसम्बन्धी पनि केही निर्णय लिएको छ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा निर्माण गरी क्यान्डिडेट क्लबमार्फत उम्मेदवार आह्वान २० वैशाखमा गर्ने जिम्मेवारी सहमहामन्त्री विपिन आचार्यलाई दिएको छ ।

केन्द्रीय समितिमा के–के विषय उठ्यो ?

बैठकमा २० जना केन्द्रीय सदस्य २ मिनेटको दरले बोलेको र उनीहरूले पार्टी संगठन तथा सरकारको कामकारबाहीबारे सुझाव राखेको प्रवक्ता झाले बताए । उनका अनुसार गृहमन्त्री सुधन गुरुङको विषय भने बैठकमा उठेन । 

जेन–जी केन्द्रीय सदस्यहरूले जेन–जी आन्दोलनमा घाइते भएकाहरूलाई शिक्षा, स्वास्थ्यको सुनिश्चितता गर्नुपर्ने, घाइतेले पाउने सुविधामा ढिलाइ नहुने कुरामा पार्टीले ध्यान दिनुपर्ने धारणा राखेका थिए । मधेशकेन्द्रित सदस्यहरूले भन्सारमा नेपाली नागरिकलाई सामान ल्याउन रोकिएको विषय नेतृत्वसँग राखेका थिए । 

बैठकमा सभापति रवि लामिछानेले गुटगत राजनीतिभन्दा माथि उठेर जनता र समाजसँग जोडिएर काम गर्न निर्देशन दिएका छन् । प्रवक्ता झाका अनुसार सभापति लामिछानेले कुनै समूह वा गुटभन्दा पनि जनता र समाजसँग भिजेको मान्छेलाई प्रतिनिधिका रूपमा ल्याउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् । ‘कसैलाई अन्याय हुँदैन । कुन समूह हुँदैन, सबै रिजल्ट ओरियन्टेड हुन्छ,’ बैठकमा लामिछानेको भनाइ थियो, ‘जनतासँग रहेर जनताका लागि काम गर्ने प्रतिनिधि नै पार्टीले ल्याउँछ । जनताकै गुनासो सुन्ने, भुइँमै खेलेको हेर्ने हो । तपाईंहरूले पनि आफ्नो क्षेत्रमा समाजसँग भिजेको मान्छे नै समेट्नुहोला ।’

See More On

सुझावित समाचार