अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिनिधि वार्ताका लागि पाकिस्तान फर्कने बताएका छन् । इरानसँगको दोस्रो चरणको वार्ताका लागि आफ्ना प्रतिनिधि पाकिस्तान फर्कन लागेको उनले बताएका हुन् । अन्तर्राष्ट्रिय रूपमा तेलप्रवाह हुने नाका हर्मुज जलमार्गलाई पुनः बन्द गरेको भोलिपल्ट ट्रम्पको भनाइ सार्वजनिक भएको हो । युद्धविराम अवधिभर हर्मुज नाका खुला गर्ने घोषणा गरेको २४ घण्टा नबित्दै इरानले पुनः बन्द गरेको थियो । त्यसलगत्तै इरानी सेनाले हर्मुजमा केही जहाजमाथि हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए ।
शनिबार हर्मुजको जलमार्गमा तेल बोकेका जहाजमाथि गोली चलाउनु युद्धविराम सम्झौताको उल्लंघन भएको ट्रम्पले बताएका छन् । इरानले पनि अमेरिकालाई आफ्नो नौसेना नाकाबन्दीमार्फत युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएको थियो । इरानले भने आफ्नो उपस्थितिबारे केही पुष्टि गरेको छैन । ट्रम्पले सम्झौता नभएमा इरानी पावरप्लान्ट र पुलहरूमा आक्रमण गर्ने धम्की पनि दिएका छन् । दोस्रो चरणको वार्ताको मिति तय भएको छैन । वार्ताका लागि पाकिस्तानले भित्रभित्रै कूटनीतिक प्रयास तीव्र पारेको छ ।
युद्धविराम लम्ब्याउने तयारी
अमेरिका र इरान २२ अप्रिलमा समाप्त हुने युद्धविरामलाई थप विस्तार गर्न अप्रत्यक्ष वार्तामा रहेको विभिन्न स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो समय पाकिस्तानले अमेरिका–इरानबिच दोस्रो चरणको वार्ता सुरु गर्न कूटनीतिक सक्रियता बढाएको छ । रिपोर्टअनुसार दुवै पक्ष युद्धविराम लम्ब्याउने पक्षमा छन् । तथापि, इरानले अमेरिकासँगको अर्को चरणको वार्ता सुरु हुन लेबनानमाथिको इजरायली आक्रमण अन्त्य हुनुपर्ने माग राख्दै आएको थियो । सो माग पनि बिहीबार इजरायल र लेबनानबिच युद्धविरामसँगै पूरा भएको छ ।