भीमफेदीमा सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते

शनिबार, ५ बैशाख, २०८३
डिजिटल संस्करण

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर- ६, जुरिखेतस्थित हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा सुमो र भारतीय स्कारपियो गाडी ठोक्किँदा ९ जना घाइते भएका छन् ।

शुक्रबार साँझ काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको ना ३ च ६०५२ नम्बरको सुमोलाई सोही दिशाबाट ओभरटेक गर्ने क्रममा बिआर २२ ए जेड नम्बरको भारतीय स्कारपियोले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। ठक्करपछि दुवै सवारी सडकमा पल्टिएका थिए।

दुर्घटनामा सुमोचालक पर्सा वीरगन्ज–१४ का ४८ वर्षीय महाबुव आलम मन्सुरीको ढाडमा सामान्य चोट लागेको छ भने सुमोमा सवार हेटौँडा–५ शान्तीनगरका ४१ वर्षीय न्युटनबहादुर क्षेत्री घाइते भएका छन्। सुमोमा रहेका अन्य दुईजना भने सकुशल रहेको प्रहरीले जनाएको छ। 

यस्तै, स्कारपियोमा सवार ७ जनामध्ये चालक भारत बेतियानिवासी २६ वर्षीय सरुप पटेल, २६ वर्षीय रिसबकुमार सराफ, ३५ वर्षीया रेश्मीदेवी सराफ, ११ वर्षीय रविकुमार सराफ र १५ वर्षीया नन्दनीकुमारी सराफ घाइते भएका छन्। उनीहरूमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। नन्दनीकुमारी सराफको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सुझावित समाचार