कांग्रेस सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन्।
सर्वोच्च अदालतले विशेष महाधिवेशनमार्फत आएको गगन थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता दिएसँगै सभापति थापाको यस्तो प्रतिक्रिया आएको हो । थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो।' शुक्रबार राति आएको फैसलामा अदालतले औचित्य सकिएको भन्दै शेरबहादुर देउवा पक्षको रिट खारेज गरिएकाे छ ।
'पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ-आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ,' उनले भने, 'पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु।'
'पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ। महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ' थापाले भने, 'अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ। जय नेपाल !'
सर्वोच्चको फैसलाले कानुनी विवाद टुंगिए पनि इतर पक्षको आगामी कदम र संस्थापनको पहलले कांग्रेसको राजनीतिक विवादको छिनोफानो गर्नेछ । विधानअनुसार विशेष महाधिवेशन बाध्यात्मक भएको तथा थापाकै हस्ताक्षरमा निर्वाचनमा सहभागी भइसकेको अवस्थामा रिटको औचित्य समाप्त भइसकेको सर्वोच्चको ठहर छ ।