बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस भित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट अन्तिम निर्णय भइसकेको अवस्थामा त्यसलाई सम्मान गर्दै पार्टी एकता सुदृढ गर्न आह्वान गरेका छन् ।
उनले कांग्रेस सधैं नीति, विधि र न्यायिक निर्णयको पक्षमा दृढ रहने पार्टी भएको उल्लेख गर्दै अदालतको निर्णयलाई स्वीकार्नु नै कांग्रेसजनको पहिचान भएको बताएका छन् ।
बानियाँले नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षबीच मतभेद रहे पनि सर्वोच्च अदालतले विवाद टुंग्याइसकेको भन्दै अब सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार अबको प्राथमिकता पार्टीको आन्तरिक एकता बलियो बनाउँदै १५औँ महाधिवेशनलाई भव्य रूपमा सफल बनाउनु हो।
सभापति बानियाँले पार्टी नेतृत्व, सबै तहका नेता-कार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र कांग्रेसप्रति आस्था राख्ने सबैलाई एकताबद्ध भएर महाधिवेशन सफल बनाउन सक्रिय हुन आग्रह गरेका छन् ।
'सबैलाई समेटेर अगाडि बढ्ने जिम्मेवारी नेतृत्वमा आएको छ,' उनले भने, 'एकताबद्ध प्रयासबाट १५औँ महाधिवेशन सफल बनाउनुपर्छ ।’ उनले पार्टीभित्रको एकता सुदृढ गर्दै आगामी कार्यदिशामा केन्द्रित हुन सबै पक्षलाई आग्रह गरेका छन् ।