राष्ट्रिय जुनियर टेनिस : १६ विधामा ९० खेलाडी भिड्दै

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

पाँचौँ  संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर राष्ट्रिय टेनिस प्रतियोगिता शनिबारदेखि पोखरामा सुरु हुँदै छ । कास्की जिल्ला टेनिस संघको आयोजना एवं कुमार मोहनबहादुर शाहीको मुख्य प्रायोजनमा हुने प्रतियोगिताका आठदेखि १८ वर्ष मुनिका ब्वाइज तथा गर्ल्स सिंगल साथै ओपन ब्वाइज तथा गर्ल्स डबल्सतर्फ गरी विभिन्न १६ विधामा प्रतिस्पर्धा हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएकाे हाे। 

प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ ब्वाइज तथा गर्ल्सतर्फ सिंगल्स र डबल्स विधामा खेलहरू हुने प्रतियोगिता संयोजक लोकबहादुर गुरुङले जानकारी दिए। कास्कीका १५ सहित काठमाडौं, चितवन, बुटवलकालगायत देशका विभिन्न सहरका गरी कुल ९० जना खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताले खेलाडीहरूको वरीयतामा सुधार ल्याउने जानकारी दिँदै शनिबारदेखि हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको उनले बताए। 

कुमार मोहनबहादुर शाहीले आफ्ना नाति भिग्नजित र नातिनी मनुश्रीको नाममा विगत पाँच वर्षदेखि प्रतियोगितालाई प्रायोजन गर्दै आएकाे संघका सचिव भीष्मराज पौडेलले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न तीन लाख रुपैयाँ खर्च हुने आयोजक संघका कोषाध्यक्ष विष्णुबहादुर थापाले जानकारी दिए । 
 

सुझावित समाचार