वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी– २०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव (बिहीबार)बाट सुरु भएको छ । विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आगामी दिनमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यका साथ जिल्लामा पहिलोपटक वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी महोत्सवको आयोजना गरिएको हो । 

कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, शुभम् फाउन्डेसन र हिमालयन माध्यमिक विद्यालय सोल्माले संयुक्त रूपमा आयोजना गरेको महोत्सवमा ८२ वटा स्टल राखिएको छ । यही वैशाख ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा खोटाङका २१ वटा माध्यमिक विद्यालयका ६४ वटा तथा राजधानीसहित बाहिरी जिल्लाका १५ वटा विद्यालयका १८ वटा स्टल रहेको आयोजक समितिका स्टल संयोजक भूपाल राईले जानकारी दिएका छन् ।  

स्थानीय स्रोतसाधन प्रयोग गरेर आयोजना गरिएको बृहत् वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी महोत्सवमा परियोजना प्रतिस्पर्धासमेत गराइने आयोजकले जनाएको छ । नगरपालिकाभित्र सञ्चालित सबै माध्यमिक तहका विद्यालय तथा देशभरका विद्यार्थीको सहभागिता रहेको महोत्सवको परियोजना प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालय तथा विद्यार्थीलाई क्रमशः नगद २० हजार, १० हजार र पाँच हजार पुरस्कार प्रदान गरिने जनाइएको छ । 

प्रदर्शनीमा विद्यार्थीले तयार पारेका विज्ञानसम्बन्धी परियोजना, एआई प्रविधिमा आधारित नमूना प्रस्तुति तथा अन्तर्क्रियात्मक स्टलहरू राखिएको महोत्सव आयोजक समितिका संयोजक एवं शुभम् फाउन्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राईले जानकारी दिएका छन् । पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीले विद्यार्थीमा सिर्जनशील सोचको विकास हुने र ग्रामीण क्षेत्रमा विज्ञान तथा प्रविधिसम्बन्धी ज्ञान र सिपको विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएकाे छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– २, सोल्मास्थित शुभम् फाउन्डेसनमा आयोजना गरिएको महोत्सवमा रोबो–कार रेसमा प्रथम हुनेलाई नगद १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवमा मोस्ट प्राक्टिकल इनोभेसन अवार्डअन्तर्गत नगद पाँच–पाँच हजार प्रदान गरिने संयोजक राईले जानकारी दिएका छन् ।  

पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा विद्यार्थीहरूबिच एआईसम्बन्धी निबन्ध लेखन प्रतियोगितासमेत आयोजना गरिएको आयोजकले जनाएको छ । निबन्धलेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः नगद १५ हजार, १० हजार र पाँच हजार प्रदान गरिने हिमालय माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सप्तमणि राईले जानकारी दिएका छन् । 

जिल्लामा पहिलोपटक आयोजना गरिएको वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी महोत्सवमा नास्टका वैज्ञानिकहरूसँग विद्यार्थीको प्रत्यक्ष कुराकानी तथा प्रशिक्षण, धीरज राईलगायतका राष्ट्रियस्तरका चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति राखिएको आयोजकले जानकारी दिएको छ । महोत्सवमा आएका नास्टका वैज्ञानिकहरूसँगको प्रत्यक्ष कुराकानी तथा प्रशिक्षणले विज्ञान, प्रविधि र नवप्रवर्द्धनका क्षेत्रमा रुचि राख्ने विद्यार्थीका लागि थप प्रोत्साहन मिल्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिएका छन् । 

महोत्सवमा काठमाडौंका आठ तथा भक्तपुर, काभ्रेको धुलिखेल र विराटनगरका एक–एकवटा विद्यालयले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । खोटाङ प्रदेश सभा १ (क)का प्रदेश सभा सदस्य एवं कोशी प्रदेश सरकारका निवर्तमान सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का उपकुलपति डा. दिलीप सुब्बाले संयुक्त रूपमा कार्यक्रमकाे उद्घाटन गरेका हुन् ।

सुझावित समाचार