कपिलवस्तुमा डेढ लाख मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

कपिलवस्तु जिल्लाको प्रमुख दोस्रो बालीका रूपमा रहेको गहुँको उत्पादनमा यस वर्ष उल्लेखनीय वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा करिब सात हजार १९४ मेट्रिक टनले उत्पादन बढ्ने देखिएको छ। यस वर्ष जिल्लाभर ४२ हजार ६१८ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको छ। सो क्षेत्रफलबाट करिब एक लाख ४९ हजार १६३ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ। औसत उत्पादकत्व प्रतिहेक्टर करिब साढे तीन मेट्रिक टन रहेको जनाइएको छ।

मलको अभावका बाबजुद पनि अनुकूल मौसम, उन्नत जातका बिउको प्रयोग तथा सिँचाइ व्यवस्थापनका कारण उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले यस वर्षको उत्पादनबारे सकारात्मक धारणा व्यक्त गर्दै भने, ‘यस वर्ष मौसम अपेक्षाकृत अनुकूल रह्यो। पर्याप्त वर्षा नभए पनि कृषकले आफ्नै पहलमा सिँचाइ व्यवस्थापन गरे। रोग तथा किराको प्रकोप पनि न्यून रह्यो, जसका कारण उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। हामीले पालिकाहरूसँग समन्वय गरेर तथ्यांक संकलन गरेका छौँ, जसले यो वृद्धि अझ विश्वसनीय देखाएको छ ।’

चौधरीका  अनुसार जिल्लामा कम्तीमा सात हजार मेट्रिक टनभन्दा बढी गहुँ उत्पादन वृद्धि हुने निश्चितजस्तै देखिएको छ। जिल्ला  कृषक महासंघका अध्यक्ष नन्दकिशोर उपाध्यायले मल अभावका बिच पनि उत्पादन वृद्धि हुनु सकारात्मक संकेत भएको बताए । उनले कृषकहरूले कम्बाइन थ्रेसर प्रयोग गरी गहुँ भित्र्याउने कार्य तीव्र रहेको बताएका छन्  । 

जिल्लाका पकडी, तौलिहवा, महाराजगन्ज, कोपवा, गजेहडा र गोटिहवालगायत क्षेत्रमा बहादुरगन्ज गहुँ उत्पादन बढी हुने गरेको छ। यस वर्ष विजया, एनएल–९७१, भृकुटी, एचडी–३४३, गौतमलगायत उन्नत जातका बिउ प्रयोग गरिएको छ । गहुँ उत्पादनमा वृद्धि भएपछि जिल्लाका  कृषक उत्साहित भएका छन्। कृषकको मिहिनेत, प्रविधिको प्रयोग र अनुकूल मौसमको संयोजनले यस वर्ष कपिलवस्तुलाई गहुँ उत्पादनमा अझ सशक्त बनाएको देखिएको छ ।

सुझावित समाचार