बुटवलमा सडक अतिक्रमण हटाउन सुरु

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

बुटवल उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन सुरु गरेको छ । सहरलाई व्यवस्थित र सुन्दर बनाउने लक्ष्यसहित सडक तथा सडक फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए ।

यात्रुका लागि सडकपेटीलाई सुरक्षित बनाउन कसैको अनुहार नहेरी काम गर्ने उनले बताए । उपमहानगरपालिकाले तीन दिनसम्म माइकिङ गर्दै व्यवसायीलाई स्वेच्छिक रूपमा सडक अतिक्रमण खाली गर्न आग्रह गरेको थियो । स्वेच्छिक खाली नगरेकालाई बुधबार उपमहानगरपालिकाले डोजरसहितको टोली परिचालन गरी खाली गराएको हो ।

अभियानअन्तर्गत बसपार्क, अस्पताल लाइन र ट्राफिक चोक क्षेत्रमा रहेका फुटपाथ अतिक्रमण हटाइएको छ । निर्देशनलाई अटेर गरी व्यापार जारी राख्ने केही व्यवसायीका सामग्री बुधबार बिहान जफत गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

नगर प्रमुख पाण्डेयले बुटवललाई सफा, सुरक्षित र व्यवस्थित सहरका रूपमा विकास गर्ने उद्देश्यले यो कदम चालिएको बताए । फुटपाथ खाली गरिएसँगै पैदलयात्रीलाई सहज आवागमनको सुविधा पुगेको छ भने सवारी चाप व्यवस्थापनमा समेत सहयोग पुगेको छ । यसले दुर्घटना न्यूनीकरण, ट्राफिक जाम नियन्त्रण र सार्वजनिक स्थानको प्रभावकारी उपयोगमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । 

See More On

सुझावित समाचार