पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ। खड्काकी श्रीमती विनिता थापाले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले थुनामा राख्नुको कारणबारे जवाफ मागेको हो।
सर्वोच्चले खड्कालाई पक्राउ गर्न राजस्व अनुसन्धान विभागबाट भएको अनुरोध र ललितपुर जिल्ला अदालतबाट हिरासतमा राख्न दिएको अनुमतिसम्बन्धी सम्पूर्ण कागजातसहितको मिसिल बिहीबार १२ बजेसम्म झिकाउन भनेको छ। रिटको अर्को पेसी भोलि बिहीबारलाई तोकिएको छ।
साथै, बिहीबार रिट निवेदनको सुनुवाइ नभएसम्म खड्कालाई थुनामै राख्न आदेश भएको छ। आदेशमा ‘...निवेदकलाई हाल जे जुन अवस्थामा राखिएको छ, २०८३/०१/०३ मा रिट निवेदनको सुनुवाइ नभएसम्म सोही अवस्थामा यथास्थितिमा राख्न’ भनिएको छ।
खड्कालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि सिआइबीले पक्राउ गरेको हो।