पोखरामा खुँडा प्रहार गरी महिला हत्या प्रकरण : भान्जा र ज्वाइँसमेत थप दुई पक्राउ

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

पोखराको व्यस्त बजार सभागृह चोकमा २५ चैतमा धारियो हतियार खुँडा प्रहार गरी हत्या गरिएकी सिर्जना पौडेल केसीको हत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मृतक सृजनाका आफनै भान्जा जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो किमि बस्ने वर्ष २४ का वसन्त केसी र सौतातर्फकी छोरी ज्वाइँ जिल्ला पर्वत फलेवास नगरपालिका ९ भंगारा स्थायी वतन भई हाल पोखरा १६ लामाचौर बस्ने वर्ष २७ को नवराज पौडेल क्षेत्री रहेका कास्कीका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।

यसअघि प्रहरीले सृजनाको हत्या गरेको आरोपमा जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नम्बर ११ शिल्मी घर भइ हाल पोखरा ६ बैदाम डेरा गरि बस्ने वर्ष २७ का सन्तोष भन्ने शिशिर केसी र शिशिरलाई सहयोग गर्ने पोखरा १७ रातोपैह्रो बस्ने वर्ष ३२ का कुशल परियारलाई पोखराबाट पक्राउ गरेको थियोे । आज पक्राउ परेको केसी शिशिरका आफनै भाइ हुन्। 

पोखराको पृथ्वीचोकमा जुत्ता पसल सञ्चालन गर्दै आएकी सिर्जना पसल बन्द गरी हिड्दै पोखरा–५ मालेपाटनतर्फ जादै गर्दा सभागृहचोकबाट सृजनाचोकतर्फ जाने क्रममा शिवालय चोक जाने गल्लीको कुनामा पछाडिबाट धारिले हतियार प्रयोग भएको थियो। सृजनालाई हतियार प्रहार गर्नेहरु स्कुटर चढेर भागेका थिए भने सडकपेटीमा हिड्दै गरेकी सृजनालाई पछाडिबाट धारिलो हतियार प्रहारपछि उनी चिच्याउँदै ढलेकी थिइन् । घाइते भएकी उनलाई गण्डकी मेडिकल कलेजमा उपचारको लागि लगिएकोमा उपचारको क्रममा उनको राती करिव ८: ३० बजेतिर मृत्यु भएको थियो ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नविन काकीका अनुसार माईजुलाई धारिलो हतियार खुडा प्रहार गरि फरार भएका सृजनाका भान्जा शिशिरलाई प्रहरीले जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका २ मनकामना टोलबाट प्रक्राउ गरि पोखरा ल्याएको थियो । पक्राउ परेका चार जनामध्ये हत्या गर्नेमा शिशिर मुख्य हुन भने अन्य तीन जना मतियार हुन् । 

बुधबार ग २५ प ३०४४ नम्बरको स्कुटर चढेर गएका उनीहरुले शिवालय चोक जाने गल्लीको कुनामा सृजनालाई कुरेर बसेका थिए । खुडालाई बोराले बेरेर राखेका शिशिरले दिउसो देखि माइजूको पसलअघिको चिया पसलमा बसेर रेकी गरिरहेका थिए । साँझ सवा सात बजेतिर पसल बन्द गरी पैदल घरतर्फ जादै गरेकी सृजनालाई पछाडिबाट भान्जा शिशिरले खुडाले प्रहार गरेका थिए भने उनका साथि कुशल स्कुटरमा बसेका थिए । शिशिरले खुडा प्रहार गरेपछि कुशलले चलाएको स्कुटरमा बसी उनीहरू भागेका थिए ।

हत्यामा प्रयोग गरिएको खुँडा प्रहरीले पोखरा १७ बिरौटास्थित तितेपानीको जंगलमा र स्कुटर पोखरा ७ मुस्ताङ चोकमा फेला पारेको कार्कीले जानकारी दिए ।घटना र घटनामा संलग्नलाई पक्राउपछि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक सृजना र घरपरिवारबिच बेमेल रहेको, कास्की जिल्ला अदालतबाट बकस-पत्रसम्बन्धी मुद्दामा सृजनाको पक्षमा फैसला भएपछि अंशका कारण हत्या भएको देखिएको कार्कीले जानकारी दिए ।

मंगलबार पक्राउ परेका दुई जनाले शिशिरलाई पोखराबाट भगाउन खोजेको अनुसन्धानका क्रममा देखिएपछि पक्राउ गरिएको कार्कीले बताए। पक्राउ परेका चार जनामध्ये शिशिरलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसूरअन्र्तगत मुद्धा चल्ने र अन्य तीन सहयोगि अर्थात मतियारलाई आधा सजाए हुने जानकारी दिए ।  

 लामो सयमदेखि उनीहरुमा पारिवारिक इगो रहेछ, एक दिन मार्छु भनेर शिशिर बसेको रहेछ सोही क्रममा एक महिनाअघिदेखि सृजनाको हत्याको योजना शिशिर बनाएको देखिएको कार्कीले जानकारी दिए । हत्या गर्ने दिन शिशिरले परियारलाई मेरो एउटा काम छ, मलाई सहयोग गर केही पैसा दिन्छु भनेर स्कुटर चलाउन लगाएर ल्याएको रहेछ ।

पोखरा ५ मालेपाटन बस्ने कृष्ण केसीकी जेठी श्रीमतीले विष सेवन गरी आत्महत्या गरेपछि नौ वर्षअघि सृजना संग दोस्रो विवाह गरेका थिए । तीनवर्षअघि कृष्णको मृत्यु भएपछि परिवारमा अंशको किचलो सुरु भएको थियो । बकसपत्रमार्फत सृजनाले मुद्धा जितेर अंश लिएकी थिईन भने अदालतबाट सृजनाले पाएको अंश फित्र्ता गर्न श्रीमानतर्फका अन्य आफन्त लागेका थिए । सृजनाको चार वर्षकी छोरी छिन् भने कृष्णको जेठी श्रीमतीतर्फ एक छोरा र दुई छोरीहरु रहेका छन् । छोरा लागुऔषध मुद्धामा कास्की कारागारमा रहेका छन् ।

पक्राउ परेका भान्जा शिशिर माघ ०८० मा अभद्र व्यवहार मुद्धा, असार र साउन ०८२ मा गरी दुई पटक चोरी तथा डाँकासम्बन्धी कसुरमा पक्राउ परेको प्रहरीले जनाएको छ । यसै गरी कुशल असोज ०७५ र वैशाख ०७६ मा लागुऔषध कसुरमा प्रहरीले पक्राउ गरेको थियो ।  
 

सुझावित समाचार