जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा निजगढ नगरपालिका– ९ स्थित गौरीशंकर क्याम्पसको सभाहलमा सोमबार बिहान नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय नागरिक, विभिन्न संघसंस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा जिल्लाको शान्तिसुरक्षा अवस्था र नागरिकका गुनासा तथा सुझावमाथि खुला छलफल गरिएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, प्रहरी नायब उपरीक्षक विजयराज पण्डित, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक दीपक केसी तथा इलाका प्रहरी कार्यालय निजगढका प्रमुख जीवन लामिछानेलगायतको उपस्थिति रहेको थियो। त्यसैगरी होटेल व्यवसायी संघ, उद्योग वाणिज्य संघ, महिला अधिकारकर्मी, युवा समूह, राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवातमा इलाका प्रहरी कार्यालय निजगढका प्रमुख जीवन लामिछानेले जिल्लाको समग्र शान्तिसुरक्षाकाे अवस्थाबारे विस्तृत प्रस्तुति दिएका थिए।
सुनुवाइका क्रममा सहभागीहरूले वर्तमान समयमा बढ्दो समस्याका रूपमा देखापरेको लागुऔषध दुर्व्यसनलाई प्रमुख चुनौतीका रूपमा उठाएका थिए। युवा पुस्तामा फैलिँदै गएको लागुऔषध प्रयोगले समाजमा दीर्घकालीन असर पार्ने भन्दै यसको नियन्त्रणका लागि कडाइका साथ अभियान सञ्चालन गर्नुपर्ने धारणा राखिएको थियो। त्यसैगरी बैंकिङ कसुरसम्बन्धी घटनाहरू बढ्दै गएकोप्रति पनि चिन्ता व्यक्त गरिएको थियो।
महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनाहरू न्यूनीकरण गर्न थप सचेतना र कानुनी कडाइ आवश्यक रहेको सहभागीहरूको सुझाव थियो। उनीहरूले यस्ता घटनामा पीडितलाई सहज पहुँच र न्याय सुनिश्चित गर्न प्रहरी अझ संवेदनशील बन्नुपर्नेमा जोड दिएका थिए।
यसैगरी, ट्राफिक व्यवस्थापन र बढ्दो सडक दुर्घटनाको विषय पनि कार्यक्रममा प्रमुख रूपमा उठाइएको थियो। अव्यवस्थित सवारी सञ्चालन, ट्राफिक नियमको पालना नहुनु तथा जनचेतनाको कमीका कारण दुर्घटना बढ्दै गएको भन्दै प्रभावकारी ट्राफिक व्यवस्थापन र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग सहभागीले गरेका थिए।