‘नयाँ पत्रिका’ २०औँ वर्षमा प्रवेश

आमपाठकबाट आर्जित विश्वसनीयताको पुँजी जस्तोसुकै अवस्थामा पनि गुम्न दिनेछैनौँ

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

प्रकाशकीय

आदरणीय पाठकवृन्द, नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना । आजै अर्थात् १ वैशाखदेखि ‘नयाँ पत्रिका’ पनि २०औँ वर्षमा प्रवेश गरेको छ । यो यात्रामा तपाईं आदरणीय पाठक, वितरक, विज्ञापनदाता र शुभेच्छुकबाट अनवरत प्राप्त स्नेह, सद्भाव, साथ र सहयोगका लागि कृतज्ञ छौँ, सबैप्रति आभार छ ।

हामी लोकतान्त्रिक पद्धति र विधिको शासनप्रति प्रतिबद्ध छौँ । आवाजविहीनहरूको सधैँ आवाज बनिरहनेछौँ । नयाँ हुन् कि पुराना शासकहरूले लय छाड्दा, बाटो बिराउँदा सदाझैँ सार्थक र रचनात्मक हस्तक्षेपको प्रयास गर्नेछौँ । सधैँ नागरिकका पक्षमा उभिनेछौँ । १९ वर्षअघि पत्रिका सुरु गर्दाको यो प्रतिबद्धता हाम्रो मूलमन्त्र हो, त्यसमा अडिग छौँ । 

२०७२ को महाभूकम्पले अपूरणीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार ध्वस्त बनाउँदा देशको अर्थतन्त्र डगमगाउने अवस्थामा पुगेको थियो । सामूहिक प्रयासमा विपत्बाट तंग्रिन नपाउँदै कोभिड महामारी सुरु भयो, जसले फेरि अर्थतन्त्र धर्मरायो । स्वाभाविक रूपमा त्यसको प्रत्यक्ष असर सञ्चार उद्योगमा पनि पर्यो । त्यसमाथि शासकबाट पत्रकार र मिडिया पनि निसाना बनाइए । अहिले पनि समग्र सञ्चार उद्योग आर्थिक रूपमा लगभग धराशायी छ । 

अहिलेको सरकारका प्रारम्भिक गतिविधि पनि मिडियामैत्री देखिएका छैनन् । लोकतन्त्रको आधारस्तम्भ मानिने स्वतन्त्र मिडियामाथि आर्थिक संकुचन लगाएर राज्यले पञ्चायतकालीन शैली अपनाएको छ । सञ्चार क्षेत्रमाथि विभिन्न कोणबाट दबाब सिर्जना हुने क्रम अझै बढ्ने संकेत देखिएका छन् । यसले समग्र सञ्चार क्षेत्रलाई थप अप्ठ्यारो पार्ने देखिन्छ । 

यस्ता चुनौतीपूर्ण अवस्थाले स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिताको आवश्यकता झन् बढेर गएको छ । हामी विश्वास दिलाउँछौँ– आमपाठकबाट आर्जित विश्वसनीयताको पुँजी जस्तोसुकै अवस्थामा पनि गुम्न दिनेछैनौँ । लोकका पक्षमा दृढ बनेर सधैँ नागरिकको आवाज बनिरहनेछौँ । उच्च व्यावसायिकता र जिम्मेवारीबाट विचलित हुनेछैनौँ । 

अन्त्यमा, नयाँ वर्ष २०८३ ले देश र समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र सुव्यवस्था ल्याओस्, यही शुभकामना छ ।

सुझावित समाचार