हेटौँडा– १९ मा बस र ट्रक ठोक्किँदा ४४ जना घाइते

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

हेटौँडा उपमहानगरपालिका– १९ स्थित पूर्व–पश्चिम राजमार्गको बस्तीपुर क्षेत्रमा सोमबार बिहान बस र ट्रक ठोक्किँदा ४४ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २५५६ नम्बरको यात्रुवाहक बसले सोही दिशातर्फ अघि बढिरहेको ना.७ख ५८३८ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनाका वेला बसमा करिब ४५–५० जना यात्रु सवार थिए ।

दुर्घटनामा बसमा सवारमध्ये ४४ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल र जिल्ला अस्पताल हेटौँडामा लगिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये उदयपुरका प्रदीप मगर, दोलखाका सागर तामाङ, मोरङकी यशोदा फतार, मोरङका टीकाराम भट्टराई, सिन्धुपाल्चोकका बाबुलाल तामाङ, झापाका तेजप्रसाद आचार्य, बसका सहचालक सन्तोष खतिवडा, चालक बाबुलाल लामिछाने तथा सप्तरीकी पिन्की यादवलगायतलाई मध्यमदेखि गम्भीर चोट लागेको बताइएको छ । अन्य यात्रुहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बस, ट्रक तथा ट्रकचालकलाई प्रहरी चौकी नेवारपानीले नियन्त्रणमा लिएको छ। घटनापछि केही समय अवरुद्ध बनेको राजमार्ग भने अहिले नियमित भएको प्रहरीले जनाएको छ ।
 

सुझावित समाचार