‘सीमापारिबाट आउने गुणस्तरहीन उत्पादनले नेपाली कृषिलाई चुनौती’

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले सीमापारिबाट आउने सस्ता तथा गुणस्तरहीन उत्पादनले नेपाली कृषिलाई चुनौती दिइरहेको बताएका छन्।

फेडरलिज्म एन्ड लोकलाइजेसन सेन्टर (एफएलसी)ले आइतबार ललितपुरमा आयाेजना गरेकाे कृषि क्षेत्रमा अन्तरप्रादेशिक सम्बन्ध र सहकार्य विषयक अन्तरक्रियामा मन्त्री पाैडेलले स्वदेशी उत्पादनको संरक्षणमा जोड दिए।

बागमती प्रदेशले प्लास्टिकजन्य फूलमा प्रतिबन्ध लगाएको जानकारी दिँदै उनले कोल्ड स्टोर सञ्चालनमा विद्युत् महसुलका कारण समस्या रहेको उल्लेख गरे। साथै, स्वदेशमै दुध प्रशोधन क्षमता हुँदाहुँदै पनि बाह्य आयात भइरहेकाले त्यसमा सुधार आवश्यक रहेको उनको भनाइ थियो।

ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जरी शाक्य बज्राचार्यले कृषि भूमि घट्दै जाँदा उपभोग बढ्दै गएकोमा चिन्ता व्यक्त गरिन्। उनले नेपालले कृषिलाई प्राथमिकता दिन नसकेको उल्लेख गर्दै एकीकृत तथ्यांक प्रणाली सुदृढ गर्न, कानुनी अवरोध हटाउन तथा कृषि भूमि संरक्षण गर्न आवश्यक रहेको बताइन्। साथै, रासायनिक मलको अनियन्त्रित प्रयोग रोक्नुपर्नेमा जोड दिइन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव केशव देवकोटाले कुल बजेटको ठुलो हिस्सा मल खरिदमा खर्च भइरहेको जानकारी दिँदै संघीय संरचनाअनुसार विकास कार्य प्रदेश र स्थानीय तहमा केन्द्रित हुनुपर्ने बताए। उनले सन्दर्भअनुसार परिमार्जन नगरी संघीय कार्यक्रमहरू कार्यान्वयन गरिनु चुनौतीपूर्ण भएको धारणा राखे।

लुम्बिनी प्रदेशका वरिष्ठ कृषिविज्ञ हरिप्रसाद पण्डितले कृषि क्षेत्रमा जनशक्तिको अभाव, असमान बजेट वितरण तथा प्राविधिक कमजोरी प्रमुख समस्याका रूपमा औँल्याए। उनका अनुसार प्रदेशहरूमा आवश्यक जनशक्तिको केवल ३८ प्रतिशत मात्र पदपूर्ति भएको छ भने कृषि क्षेत्रमा लगानीसमेत घट्दो क्रममा छ। कोल्ड स्टोर सञ्चालनमा उच्च विद्युत् लागतका कारण समस्या देखिएको र साना किसानका लागि स्थानीय भण्डारण संरचना बढी प्रभावकारी देखिएको उनले बताए।

गण्डकी प्रदेशका कृषि प्रसार अधिकृत अर्जुनदेव ज्ञवालीले प्राविधिक कर्मचारीहरू प्रशासनिक काममा अल्झिनुपरेको समस्या उठाए।

बागमती प्रदेश कृषि विकास महाशाखाका प्रमुख झरना पन्थीले तरकारी तथा फलफूल उत्पादनमा वृद्धि भए पनि अन्न तथा दलहन उत्पादनमा कमी रहेको जानकारी दिए। उनले जनशक्ति अभावले समस्या जटिल बनाएको उल्लेख गर्दै प्रदेशस्तरमा विभिन्न सुधारात्मक कार्यक्रम सञ्चालन भइरहेको बताए। 

एफएलसीका अध्यक्ष डा. खिमलाल देवकोटाले कृषि क्षेत्रमा अन्तरप्रादेशिक सिकाइ, अनुभव आदान–प्रदान र सहकार्यको आवश्यकता औँल्याउँदै कार्यपत्र प्रस्तुत गरे।

सहभागीहरूले कृषि क्षेत्रका उपलब्धि, चुनौती तथा प्रदेशहरूबिच सहकार्यका सम्भावनाबारे गहन छलफल गरेका थिए। साथै, प्रदेश–विशेषका अभ्यास, अनुभव र उदाहरणहरू साझेदारी गर्दै सम्भावित सहकार्यका क्षेत्रहरू पहिचान गरिएको थियो।

सुझावित समाचार