इन्धन जोगाउन काठमाडौं महानगरपालिका ‘कार पुलिङ’ प्रणालीमा जाने

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

इन्धन कटौतीपछि काठमाडौं महानगरपालिकाले अधिकारीहरूलाई उपलब्ध गराएको सवारीसाधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएकाे छ ।  इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन्। 

‘विश्वभर इन्धनको अभाव छ । यसवेला पहिलेकै अवस्थामा सवारीसाधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ । यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन । यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ,’ डंगोलको भनाइ छ । 

महानगरपालिकाले ४८औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गर्ने निर्णय गरेको थियो। 

‘कार पुलिङ’ कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने–जाने अधिकारीहरूको समूह बनाइएको छ । यस समूहमा हुनेले आफूसँग भएको सवारीसाधन आलोपालो सञ्चालन गरेर आफूनजिकका अधिकारीलाई पनि ल्याउने–लाने गर्नुपर्छ । यसो गर्दा कार्यालयमा आउने–जाने सवारीसाधनको संख्या र इन्धनको प्रयोग घट्ने महानगरको विश्वास छ। 
 

सुझावित समाचार